नयाँदिल्ली- श्रीलंकामा जारी आर्थिक-राजनीतिक संकटलाई लिएर भारतमा सर्वदलीय बैठक हुने भएको छ।
भारतीय राजनीतिक दलहरूको बैठकबाट श्रीलंकालाई गर्न सकिने सहयोगबारे धारणा आउने भएको छ। मंगलबारका लागि बोलाइएको बैठकमा भारतमा अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले नेताहरूलाई श्रीलंकाको ताजा अवस्थाबारे जानकारी दिने छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार सर्वदलीय बैठक बोलाइएको केन्द्रीय संसदीय मामिला मन्त्री प्रह्लाद जोशीले जानकारी दिएका हुन्। यसअघि आइतबार भारतीय संसदको प्रस्तावित मनसुन सत्रमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको थियो।
उक्त बैठकमा तमिलनाडुका मुख्य दलहरू डीएमके र एआईएडीएमकेका नेताहरूले भारतलाई छिमेकी मुलुक श्रीलंकामा जारी संकटमा भूमिका वहन गर्न आग्रह गरेका थिए। दुवै दलले श्रीलंकाको कठोर आर्थिक स्थिति र त्यहाँका नागरिकको अवस्थामागि केन्द्र सरकारको ध्यानाकर्षण गराएका थिए।