काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनु पर्ने अवस्था आएको बताएका छन् ।
नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल)ले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालले सबैभरि असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको ऐक्यबद्धता हुनु पर्ने बताए ।
कार्यक्रममा उनले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरु मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा आक्रमण भइरहेको बताए ।
जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउन लागेको उनले बताए ।
कार्यक्रममा उनले अब वामपन्थीहरु कुनै न कुनै रुपमा एकबद्ध हुनु पर्ने पनि बताए । उनले यसअघिको कम्युष्टि पार्टीहरुको एकतालाई जोगाउन नसकेकोमा आत्माअलोचना गरे ।
उनले कार्यक्रममा उपस्थित केपी शर्मा ओलीलाई पनि वाम एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्न आग्रह गरे । साथै अब कुनै निर्वाचनमा तालमेल गरेर हुन्छ वा अन्य कुनै उपायबाट वाम एकता हुनु पर्ने बताए ।