काठमाडौँ । जापानी पूर्वप्रधानमन्त्री शिञ्जो आबेमाथि गोली प्रहार भएसँगै ‘कार्डियोपल्मोनरी अरेस्ट’ भएको छ । समाचार जनाइएअनुसार उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
Advertisement
देशको नारा शहरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । समाचार संस्था एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली हानेको थियो ।
टोकियोका पूर्व गभर्नर योइची मासुजोएले आफ्नो सामाजिक सञ्जालमार्फत आबेलाई ‘कार्डियोपल्मोनरी अरेस्ट’ भएको जनाएका छन् । जापानमा आधिकारिक रूपमा मृत्युको पुष्टि हुनुअघि प्रारम्भिक रिपोर्टमा कार्डियोपल्मोनरी अरेस्ट भन्ने शब्द प्रयोग गरिन्छ ।
उनमाथि आक्रमण गर्ने व्यक्तिलाई हिरासतमा राखिएको समाचारमा जनाइएको छ । जापानमा बन्दुकमाथि प्रतिबन्ध लगाइएको छ । तर, विरलै यस्ता घटना हुने गरेको छ ।