इस्तानबुल- रुस-युक्रेन युद्धका कारण सबैजसो मुलुक महँगीको कहरमा छन्। यस्तै कहर बेहोरिरहेको छ, पश्चिम एसिया र दक्षिणपूर्वी युरोपबीचको मुलुक टर्कीले पनि।
टर्कीमा महँगी यति बढेको छ कि २४ वर्षयताकै उच्च विन्दु छोएको छ। सरकारी एजेन्सीका अनुसार जुनमा महँगी बढेर ७८.६२ प्रतिशत पुगेको छ।
सबैभन्दा बढी मूल्यवृद्धि दैनिक उपभोग्य सामानमा भएको छ, जसमा १६.५१ प्रतिशतले मूल्य बढेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार जुनमा ७८ प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुने आकलन थियो। आकलनभन्दा थोरै बढी महँगी देखिएको छ। सन् २०२२ को अन्त्यसम्ममा महँगीदर ७० प्रतिशतमा रहने अनुमान छ।
टर्कीमा जुन भएको महँगी सन् १९९८ यताको सबैभन्दा ज्यादा हो। त्यतिबेला ८०.४ प्रतिशतसम्म महँगी बढेको थियो।
गत मेमा टर्कीमा महँगी ७३.५ प्रतिशत थियो। ब्लुमबर्ग एचटीका अनुसार टर्की उच्चतम महँगीको सामना गर्ने २० ठूला मुलुकको सूचीमा पहिलो नम्बरमा उक्लिएको छ। टर्कीपछि अर्जेन्टिना ५१.२७ प्रतिशत महँगीका साथ दोस्रो नम्बरमा छ।