काठमाडौँ । लुम्बिनी प्रदेशकी पूर्व स्वास्थ्य राज्यमन्त्री विमला वलीले प्रेमी भनिने माओवादी केन्द्रका कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर मर्यादाविपरीत काम गरेको ठहर भएको छ ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई वलीले पदीय मर्यादाविपरीत काम गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएका हुन् ।
यस्तै, प्रतिवेदनमा विमलाले एकराजसँग साढे ६ लाख रुपैयाँ लिनु पर्ने उल्लेख गरिएको छ । प्रतिवेदनको विस्तृत अध्ययन गरी सरकारले आवश्यक कदम अगाडि बढाउने मुख्यमन्त्रीले बताएका छन् ।
विवादमा आएसँगै राज्यमन्त्री वलीले असार १२ गते नै पदबाट राजीनामा दिइसकेकी छन् । उनको राजीनामा १५ गते स्वीकृत भएको हो ।
राज्यमन्त्री वलीले गत जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगर ५ का एकराजको घरमा पुगी उनकी श्रीमती मीना भण्डारी र छोरीमाथि हातपात गरेकी थिइन् ।
नेकपा एमालेबाट निर्वाचित श्रीमान् उत्तरकुमार वलीको निधन भएसँगै विमलाले तत्कालीन नेकपाबाट दाङको ३ को (ख)बाट उपनिर्वाचनबाट निर्वाचन जितेकी हुन् ।