काठमाडौँ । मधेस प्रदेशको जिन्दगी मानिने हुलाकी सडकखण्ड पर्ने कमला नदीको पुल भासिएसँगै सर्वसाधरणको दैनिकी बदलिदिएको छ । सिराहा सदरमुकामदेखि ३२ किलोमिटरको दूरीमा रहेको प्रदेशको राजधानी जनकपुरधाम पुग्न ९० किलोमिटरको दूरी तय गर्नुपर्ने बाध्यता छ ।
मनसुनसँगै वर्षा भएपछि कमला नदीमा पानीको बहाव बढेसँगै आवतजावत जोखिमपूर्ण बनेको छ । गाईवस्तुको निम्ति चरिचरणको समस्या भएको छ ।
विं.सं. २०६८ सालमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनले पाएको उक्त ठेक्का २४ करोड ९१ लाख रुपैयाँको हो । पटकपटक म्याद थप गर्दा पुल निर्माण गर्न ढिलाइ गरेपछि पप्पु कन्स्ट्रक्सनलाई हटाएर ०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मेवारी सुम्पिएको छ ।
लुम्बिनी बिल्डर्सले काम गर्दैगर्दा गत वर्ष (०७८ असार १७) मा सिराहा नगरपालिका ६ बसपिट्टाघाटनजिकै पुल भासिएको थियो । पुल भासिएपछि दुई जिल्लाको सहज यातायातको सम्भावनालाई तत्काल ठप्प पारिदिएको छ ।
पुल भासिएपछि मधेस प्रदेशका तत्कालीन आन्तरिक तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निरीक्षण गर्दै एक साता अनुगमन टोली पठाउने वाचा गरेका थिए । तर, अहिलेसम्म प्रदेशबाट अनुगमन टोलीले अनुगमन टोली पुग्न सकेको छैन ।
पुल भासिएसँगै सहज रूपमा आवतजावत रोकिएको छ । व्यापार, व्यवसाय, सिराहा पढ्न आउने विद्यार्थीको पठनपाठनसमेत प्रभावित बनेको छ ।