मुम्बई- भारत महाराष्ट्रका मुख्यमन्त्री नियुक्त एकनाथ सिन्दे कुनै समयमा अटोरिक्साका चालक थिए।
आफ्नै दल शिवसेनामा विद्रोह गरेर उनी महाराष्ट्रका मुख्यमन्त्री नियुक्त भएका छन्। निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।
पूर्वमुख्यमन्त्री देवेन्द्र फडणविस नै मुख्यमन्त्री बन्ने चर्चाबीच उनले सिन्देको नाम घोषणा गरेका हुन्। हनुमान चालीसा पाठ गर्ने विवादबाट शुरु भएको महाराष्ट्रको राजनीतिक संकट ठाकरेको सरकार गिर्ने विकास क्रमसम्म पुगेको थियो। ठाकरेले राजीनामा दिएपछि सिन्देलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
शिवसेनाकै वरिष्ठ नेता सिन्देले पार्टीमा विद्रोह गर्दै केही विधायक लिएर गुजरातको सुरत शहर पुगेका थिए। आफूलाई पार्टीका ५० विधायकको समर्थन रहेको दाबी उनले गरेका थिए। उनी नेतृत्वका विधायकहरू सुरतबाट आसामको गुवाहाटी पुगेका थिए। त्यसपछि ठाकरेको पक्षमा रहेका अन्य विधायक पनि सिन्देलाई समर्थन गर्दै गुवाहाटी पुगेका थिए।
३० जुनमा राज्यपाल भगतसिंह कोस्यारीले ठाकरेलाई विधानसभाबाट विश्वासको मत लिन भने। तर, शिवसेनाले सर्वोच्च अदालतमा कोस्यारीलाई चुनौति दियो। सर्वोच्च अदालतले शिवसेनाको दाबीमा अन्तरिम आदेश जारी गरेन। र, ठाकरे पदबाट राजीनामा दिन बाध्य भए।
नवनियुक्त मुख्यमन्त्री सिन्दे ठाणेको कोपरी–पचपाखडी सिटबाट विधायक छन्। उनी ठाकरेको सरकारमा शहरी विकास मन्त्री र ठाणेका प्रभारी मन्त्री पनि थिए।
एक समय अटोरिक्सा चालकका रूपमा मजदुरी गरेका उनी शिवसेनातर्फ आकर्षित भएर राजनीतिक करिअर शुरु गरेका थिए।