नयाँदिल्ली- भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले पदबाट राजीनामा दिएका छन्।
बिहीबार विधानसभामा मुख्यमन्त्री ठाकरेविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल र मतदान हुँदै थियो। अल्पमतमा परेका ठाकरेले त्यसअघि नै पदबाट राजीनामा दिएका हुन्।
ठाकरेको सरकार गिर्नुको कारण पनि अनौठो छ। महाराष्ट्रमा पौराणिक पात्र पवनपुत्र हनुमानको भजन (हनुमान चालीसा)माथि बढेको विवादका कारण ठाकरेको सरकार गिरेको हो। सोही विवादका कारण ठाकरेको पार्टी शिवसेनाका ४० विधायकले उनको साथ छाडेपछि सरकार छाड्न बाध्य बनेका हुन् उनी।
विवाद हनुमान चालीसाको, ४० दिनभित्र ४० नै विधायकले ठाकरेको साथ छाडे। कुनै विधायक मुम्बई छाडेर बैंग्लोर पुगे भने कोही आसामको गुवाहाटी पुगेर होटलमा डेरा जमाए।
मध्यप्रदेशस्थित भारतीय जनता पार्टीको सरकार गृहमन्त्री नरोत्तम मिश्रले बिहीबार एक सार्वजनिक कार्यक्रममा ठाकरेमाथि व्यंग्य कसेका छन्, हनुमान चालीसाको प्रभावका कारण ठाकरेको सरकार गिरेको हो।
‘यो हनुमान चालीसाकै प्रभाव हो। ४० दिनभित्र ४० विधायकले ठाकरेको साथ छाडे। सञ्जय राउतले भन्दै थिए, हाम्रा विधायक अपहरित (अगवा) भए, तर खासमा अगवा होइन, भगवा (भगौडा) देखिए,’ उनले भने, ‘यस्तो पहिलोपटक भयो, हिन्दुत्वको नाममा मेरो देशको कुनै राज्यको सरकार बदलिँदै छ।’
उनले उक्त कार्यक्रममा भारतीय राष्ट्रिय कंग्रेसलाई पनि छाडेनन्। र, भने, ‘कोही कंग्रेसको संगतमा पर्यो भने पत्तासाफ हुन्छ। अखिलेश यादवले उत्तरप्रदेशमा कंग्रेसको संगत गरे, पत्तासाफ भए। तेजश्वी यादवले कंग्रेसको संगत गरे, उनको त्यही दशा भयो। र, अहिले उद्धव ठाकरेले कंग्रेसको सहारा खोजे, उनी पनि पत्तासाफ भए।’
महाराष्ट्रका शिवसेनाका विधायक एकनाथ सिन्देको नेतृत्वमा ३९ विधायक विद्रोही बनेका छन्। सोही कारण मुख्यमन्त्री ठाकरेले बुधबार राति राजीनामा दिएका हुन्। विधायक सिन्देको समूहले भाजपासँग मिलेर सरकार बनाउने प्रयास थालेको छ।
गत मेमा महाराष्ट्रको अमरावती क्षेत्रकी स्वतन्त्र सांसद नवनीत राणा र उनका विधायक पति रवि राणाले तत्कालीन मुख्यमन्त्री ठाकरेको निजी आवास मातोश्रीको बाहिर हनुमान चालीसा पाठ गर्ने घोषणा गरेका थिए। त्यसपछि विवाद यसरी बढ्यो कि दुवैलाई गिरफ्तार गरेर जेल पठाइयो। उक्त मामिलामा ठाकरे सरकार गलत ढंगबाट प्रस्तुत भएको आरोप भाजपाले लगाएको थियो।
ठाकरेको राजीनामापछि भाजपाकै साथमा एकनाथ सिन्देले नयाँ सरकार बनाउने प्रयास थालेका छन्, जुन राजनीतिक संयोग मात्र होइन।