काठमाडौँ । अन्ततः जनता समाजवादी पार्टी (जसपा) फुट्ने भएको छ । पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव सौहार्दपूर्ण तरिकाले छुट्टिन सहमति भएसँगै जसपा फुट्ने भएको हो ।
बुधबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच छलफल भएको थियो । छलफलमा भट्टराईले आफूहरूको विचार र सिद्धान्त मिल्ने भए पनि कार्यकर्ताहरू अन्तरघुलित हुन नसकेको बताएका थिए ।
पार्टी फुट्ने भएसँगै दुई अध्यक्षले सांसदलाई पार्टी रोज्न दिने कुरामा सहमत भएका छन् । पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद उत्कर्षमा पुगेका थियो ।
पार्टीका सबै निर्णयमा यादवले एकलौटी गरेको भन्दै भट्टराईले विरोध गर्दै आएका थिए । यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भई संघीय समाजवादी पार्टी बनेको थियो । संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भई जसपा बनेको होे ।