काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले पार्टी दर्ता गर्ने भएका छन् । नेकपा एकता अभियान सञ्चालन गर्दै आएका उनले आज पत्रकार सम्मेलन गरी यस्तो घोषणा गर्न लागेका हुन् ।
स्रोतका अनुसार पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने भएको छ । गौतमले नेकपा विभाजनपछि चलाएको यो अभियान कायमै राखेका थिए । उनले आगामी संघीय निर्वाचनलाई लक्षित गरी दल दर्ता गर्न लागेका हुन् ।
गत पछिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेका गौतमले हालै राष्ट्रिय भेला आयोजना गरेका थिए । चन्द्रागिरी रिसोर्टमा सोमबार बसेको अभियानको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।
योसँगै तत्कालीन नेकपा फुटेर चार वटा दल बन्ने भएको छ । नेकपा फुटेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूतिएको थियो । पछि एमालेबाट माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी खोलेका थिए ।