वासिङ्टन- अमेरिकाको टेक्सस राज्यमा एक ट्रकभित्र ४२ जनाको लाश भेटिएको छ। उनीहरू सबै आप्रवासी भएको अनुमान छ।
Advertisement
ट्रकभित्र गम्भीर अवस्थामा रहेका १६ जनालाई अस्पताल भर्ना गरिएको छ। स्थानीय टेलिभिजन च्यानलहरूका अनुसार उक्त ट्रक सान एन्टोनियोको दक्षिण–पश्चिमस्थित एक रेलमार्गको नजिक फेला परेको थियो। ट्रक ड्राइभर फरार छन्।
सान एन्टोनियो अमेरिका-मेक्सिको सीमाबाट करिब २५० किलोमिटर दूरीमा पर्छ। टेक्ससका गभर्नर ग्रेग एबोटले यो मृत्युका लागि राष्ट्रपति जो बाइडेनलाई जिम्मेवार बताएका छन्। बाइडेनको खुला सीमा नीतिका कारण यस्तो घटना भएको उनको आरोप छ।
मेक्सिकोका विदेशमन्त्री मारसेलो इबरार्डले आफ्नो देशका अधिकारीहरू घटनास्थलमा पुगेको बताएका छन्। मृतक र गम्भीर बिरामी रहेकाहरूको नागरिकताका बारेमा कुनै जानकारी सार्वजनिक गरिएको छैन। र, मृत्युको कारण पनि खुलेको छैन।