ढाका- बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले शनिबार देशकै लामो पुल उदघाटन गरेकी छन्।
राजधानी ढाकानजिक निर्माण भएको यो पुलको लम्बाइ ६.१५ किलोमिटर छ। पद्मा नदीमा निर्मित पुलको नाम पनि ‘पद्मा’ राखिएको छ।
यो पुल निर्माण गर्न बंगलादेशले दुई दशकअघि योजना बनाएको थियो। यो पुलमार्फत बंगलादेशको दक्षिण-पश्चिमी क्षेत्रका १९ जिल्ला राजधानी ढाकासँग जोडिएका छन्। त्यसमार्फत देशभरको सडक सञ्जालमा यो पुल जोडिएको अधिकारीहरूको भनाइ छ।
यो पुलबाट भारतको कोलकाता र बंगालादेशको राजधानी ढाकाबीचको यात्राको समय आधा घटेको छ।
‘यो पुल इँटा, सिमेन्ट, फलाम र कंक्रिटबाट मात्र बनेको छैन, यो हाम्रो राष्ट्रिय गौरवसँग जोडिएको छ,’ उदघाटनपछि प्रधानमन्त्री वाजेदले भनिन्, ‘यो हाम्रो ताकत र गरिमाको प्रतिक हो।’
यो पुल बनाउने सबै खर्च बंगलादेश सरकारले बेहोरेको छ। पुल निर्माणमा भ्रष्टाचारको आरोपपछि त्यसको प्रायोजन गरिरहेको विश्व बैंकले हात झिकेको थियो।
भारतसँगको यात्रा आधा घटेकामा ढाकास्थित भारतीय उच्चायोगले बंगलादेश सरकारलाई बधाइ दिएको छ। बंगलादेशको आन्तरिक कनेक्टिभिटीका लागि मात्र नभई भारत र बंगलादेशबीच लजिस्टिक्स र व्यापार बढाउन पनि पद्मा पुल सहयोगी सावित हुने उच्चायोगले बताएको छ।