इस्लामावाद- आर्थिक संकट गहिरिँदै जाँदा पाकिस्तानमा फेरि चिनियाँ ऋण थपिएको छ।
आर्थिक संकटबाट बाहिर निकाल्ने बहानामा चिनियाँ बैंकहरूको समूहले २.३ अर्ब डलर ऋण दिने सम्झौता गरेका छन्। पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले ट्विटमार्फत चिनियाँ बैंकहरूको समूहसँग ऋण सम्झौता भएको जानकारी दिएका हुन्।
‘चिनियाँ बैंकहरूको समूहबाट ऋण उपलब्ध गराउने पहलका लागि चीन सरकारलाई धन्यवाद,’ मन्त्री इस्माइलले लेखेका छन्।
पाकिस्तानी विदेश मन्त्री बिलाबल भुट्टोले पनि उक्त ऋण सम्झौताप्रति चिनियाँ राष्ट्रपति सी जिनपिङ, विदेशमन्त्री वाङ यी तथा चीन सरकारप्रति आभार व्यक्त गरेका छन्। त्यसबाट विदेशी मुद्रा सञ्चिति बढाउन सहयोग पुग्ने उनको भनाइ छ।
यसअघि ऋण दिन पनि चीन सरकारले कडा शर्त राखेको थियो। सोही कारण गत मार्चमा पाकिस्तान सरकारले ऋण लिने प्रस्ताव फिर्ता लिएको थियो। व्याजदर घटाएर ऋण दिन चीन सरकार राजी भएको हो।