काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा समायोजन भएको छ ।
भाडा समायोजन भएसँगै काठमाडौँदेखि बझाङ र बाजुरासम्मको भाडा सबैभन्दा महंगो भएको छ । काठमाडौँबाट यी जिल्लामा पुग्न तीन हजार १७५ रुपैयाँ भाडा तोकेको छ ।
यस्तै, मालबाहक ट्रकमा सबैभन्दा बढी भाडा काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको दुरीको भाडा रहेको छ । यस दुरीको भाडा ७६ हजार ४८८ रुपैयाँ कायम भएको विभागले जनाएको छ ।
सोमबार यातायात व्यवस्था विभागले पछिल्लोपटक बढेको पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरेको हो ।
विभागले यात्रुवाहक सवारीको भाडामा ५.३० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको ६.९४ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको अधिकतम ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको छ।
पछिल्लोपटक आइतबार नेपाल आयल निगमले डिजेलको मूल्यमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।