काठमाडौं– पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने २२ लाख डोज कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।
सो खोप आइतबार बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाले जनाएको छ ।
परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिकाका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ ।
पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई २ देखि ८ साउनसम्म दोस्रो डोज दिइनेछ । वाग्मती प्रदेशका ७ जिल्लामा आवश्यक पर्ने खोप टेकुमा राखी अरू जिल्लामा आइतबार नै पठाइने महाशाखाले जनाएको छ ।
यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा ५ देखि ११ भदौसम्म पहिलो डोज सञ्चालन हुनेछ भने २७ भदौदेखि १ असोजसम्म दोस्रो डोज दिइने महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।
५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लाकाले खोप पाउनेछन् ।
त्यसैगरी, लुम्बिनी प्रदेशका पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशका सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेलल्धुरामा खोप कार्यक्रम सञ्चालन गरिने परिवार कल्याण महाशाखाले जनाएको छ ।