काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक सुरु भएको छ । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का लागि पत्राचार गरेको विषयमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मासहित बैठक बसेको हो ।
बैठकमा प्रधानसेनापतिसँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव किरणराज शर्मालाई समेत बोलाइएको छ ।
बैठकमा नेपालको परराष्ट्र नीति, प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमण, समितिको वार्षिक प्रतिवेदन विषयमा छलफल हुने भएको हो ।
तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीका लागि अमेरिकालाई पत्राचार गरेका थिए । उक्त पत्र सार्वजनिक भएपछि सरकार र सेनाको आलोचना भइरहेको छ । सेनाले पत्राचार नभएको भन्दै विज्ञप्ति जारी गरेलगत्तै पत्र सार्वजनिक भएको हो ।
बुधबार अमेरिकी दूतावासले एसपीपीसम्बन्धी कुनै सम्झौता गर्नु नपर्ने र यसअघि नै नेपाल यसको अंग भइसकेको जनाएको थियो । दूतावासले नेपालले सन् २०१५ र २०१७ दुईपटक आवेदन दिएपछि २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको बताएको थियो ।
त्यस समयमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गरेका थिए । उनकै स्वीकृतमा तत्कालीन प्रधानसेनापति क्षेत्रीले सम्झौता गरेका थिए । क्षेत्री अमेरिकामा बस्दै आएका छन् ।