काठमाडौं- अमेरिकासँग राष्ट्रहित विपरीतको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) तत्कालीन प्रधानमन्त्री केपी ओलीको स्वीकृतिमा अगाडि बढेको खुलासा भएको छ।
आफूलाई राष्ट्रवादी ‘राजनेता’को परिचय दिलाउन लागिपरेका ओलीकै स्वीकृतिमा राष्ट्रहितविपरीतको उक्त सम्झौता अगाडि बढेको खुलासा भएको हो।
२०७२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्दा ओलीले दिएको स्वीकृतिका आधारमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)’ सम्झौताका लागि पत्राचार गरेको खुलेको छ।
प्रधानसेनापति क्षत्रीले नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई तीन बुँदे औपचारिक पत्राचार गर्दै नेपालको तर्फबाट उक्त कार्यक्रममा निकट भविष्यमै सामेल हुन इच्छुक रहेको उल्लेख गरेका थिए।
पत्रमा त्यस कार्यक्रममा सामेल हुँदा दीर्घकालीन रूपमा दुवै पक्षलाई फाइदा पुग्ने र सुरक्षा सम्बन्ध मजबुत हुने उल्लेख छ। यस्तै, सैन्य कुशलता र अनुभव आदानप्रदानमा पनि त्यसबाट मद्दत पुग्ने प्रधानसेनापति क्षत्रीले उल्लेख गरेका छन्।
प्रकोप प्रतिकार्य तयारी तथा व्यवस्थापन, वायुसेवा पूर्वाधार व्यवस्थापन, सुरक्षा आदानप्रदान र संवेदनशील पूर्वाधार विकासका साथै नेपाली सेनाका अधिकारीहरूको व्यावसायीकरण र विकासमा सहयोग पुग्ने उल्लेख क्षत्रीले पत्रमा गरेका थिए।
तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपाली सेना उक्त कार्यक्रमका लागि तत्पर रहेकाले अमेरिकी दूतावासलाई उच्च प्राथमिकता दिन आग्रह पनि गरेको स्रोतले जनाएको छ।