काठमाडौं– नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
निगमले १९ जेठदेखि लागू हुने गरी पेट्रोलमा १० रुपियाँ मूल्य घटाउँदै प्रतिलिटर १७० रुपियाँ मूल्य निर्धारण गरेको र डिजेल र मट्टितेलको मूल्य १५३ कायमै रहेपछि यहाँका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको हो ।
मूल्य घटाए पनि पेट्रोलिमय पदार्थको आयातमा कुनै कमी नआएको सरकारले बताए पनि बागलुङमा भने तेलको चरम अभाव हुन थालेको छ । बागलुङ जिल्ला सदरमुकाममा जम्मा दुई पेट्रोल पम्प छन् । ती दुवै पेट्रोलपम्म प्राय: बन्द अवस्थामा देखिन्छन् ।
बागलुङमा पेट्रोलिमय पदार्थको अभाव हुन थालेपछि उपभोक्ताले कालोबजारी भएको आरोप लगाएका छन् । उनीहरूले मनोमानी ढङ्गले पेट्रोलियम पदार्थ वितरण गर्ने बताउँदै समय–समयमा पेट्रोल पम्पको अनुगमन गर्न आवश्यक रहेको बताउँछन् ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले पेट्रोलिम पदार्थको अभाव हुनथाले आफूहरूले अनुगमन गर्ने बताएका छन् । ‘मूल्य घटेपछि पेट्रोलको अभाव भएको सुनियो, यस्तो हुनु नपर्ने, उतैबाट नआएर हो कि, व्यवसायीको चलाखी हो,’ सहायक प्रजिअ पौडेलले भने, ‘हामी जिल्लाका पेट्रोल पम्पको अनुगमन गर्छौ, डिजेल तथा पेट्रोल भएरसमेत अभाव सृजना गरेको भए कारबाही हुन्छ ।’
उनले पेट्रोलियम पदार्थ मात्रै नभएर अन्य उपभोग्य वस्तुको समेत कालोबजारी भए तुरुन्तै कारबाही गर्ने जनाएका छन् ।