राहदानी अर्थात् अंग्रेजीमा पासपोर्ट। विश्व सम्पदामा सूचीकृत स्थल घुम्दा पनि अलग्गै पासपोर्टको व्यवस्था छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ। तर, काठमाडौं वसन्तपुर दरबार स्क्वायरमा ‘हेरिटेज पासपोर्ट’को अवधारणा लागू भएको दुई दशक बितिसक्यो। तथापि, यसलाई अझ सहज बनाउने प्रयासमा दरबार संग्रहालय लागिपरेको छ।
खासमा, हेरिटेज पासपोर्ट भनेको सानो तर महत्त्वपूर्ण जानकारी दिने बुकलेट हो, जुन पासपोर्ट आकारको हुन्छ। सम्पदा अवलोकन गर्न आउने आन्तरिक–बाह्य पर्यटकलाई उक्त पासपोर्टमा छाप लगाएर दिइन्छ। त्यसको उद्देश्य हो, पर्यटकले आफूले घुमेको सम्पदा क्षेत्रबारे थोरै भए पनि जानकारी संग्रहित गर्न सकून्।
सन् २००० तिर काठमाडौंका सम्पदा क्षेत्रहरू खतराको सूचीमा थिए। अर्थात्, काठमाडौंमा रहेका सातवटा विभिन्न सम्पदा क्षेत्रलाई सुरक्षित गरिसकिएको थिएन। र, ती सम्पदा क्षेत्रलाई सुरक्षित बनाउन विभिन्न अभियान सञ्चालन भए। त्यसमध्ये वसन्तपुर दरबार क्षेत्रमा लागू गरिएको ‘हेरिटेज पासपोर्ट’को अवधारणा पनि एक थियो।
खासगरी, वसन्तपुर दरबार क्षेत्रमा घुम्न आउने स्कुले बालबालिका यसबाट बढी लाभान्वित हुनेछन्। उनीहरूले आफ्नो पाठ्यपुस्तकमा पढ्दै आएको वसन्तपुर दरबार क्षेत्रबारे घरमै सहायक सामग्री प्राप्त गर्छन्।
अहिले वसन्तपुर दरबार संग्रहालयका लागि पासपोर्टको नमूना तयार पारिएको छ। सम्पदामा घुम्न जाँदा निश्चित शुल्क तिर्नुपर्छ, त्यसको बदलामा संग्रहालयका कर्मचारीले पासपोर्टको रूपमा बुकलेट दिन्छन्। एउटा सानो बुकलेटमा सम्पदाका बारेमा धेरै महत्त्वपूर्ण जानकारी अटाउने किसिमले यसको डिजाइन गरिएको छ।
‘हेरिटेज पासपोर्ट धेरै पहिलेबाट आएको कन्सेप्ट हो। यसको शुरुवात हाल नेपालमा औपचारिक रूपमा हनुमान ढोकाबाट गर्दैछौं,’ हनुमान ढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनाल भन्छन्, ‘ई–पासपोर्ट भनेर तयारी पूरा गरिएको छ। ई–पासपोर्टलाई लन्च गरेर वेवसाइटमा राखिनेछ। त्यसपछि आवश्यकताअनुसार जोकोहीले डाउनलोड गर्न सक्छन्। केही समयपछि प्रिन्टमै निकालेर सर्वसाधारण, विद्यार्थीदेखि अन्य अवलोकनकर्तालाई पनि प्रदान गरिनेछ।’
उनका अनुसार पासपोर्ट हाल अंग्रेजी सरल भाषामा लेखिएको छ। यसमा हनुमान ढोका दरबार क्षेत्रका विशेष तथा महत्त्वपूर्ण वस्तुहरूलाई समेटिएको छ। पासपोर्टजस्तै आकार दिइएकाले यसलाई सम्पदा पासपोर्ट भनिएको हो। उक्त पासपोर्टमा बालबालिकाले आफ्नो व्यक्तिगत विवरण पनि राख्न मिल्ने उनले बताए।
सम्पदा अवलोकन गरिसकेपछि पासपोर्टमा कार्यालयको छाप पनि लगाइने छ, पासपोर्टमा भिसा लगाएजस्तै। यसले बालबालिकालाई ज्ञान मात्र नभई स्वदेशी, विदेशी पर्यटकलाई राम्रो जानकारीमुलक बुकलेट हुन्छ भन्ने आशा गरिएको निर्देशक खनालले जानकारी दिए।