काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ परीक्षा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब चार लाख १५ हजार परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा. शर्माले सबै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअगाडि अनलाइनबाट प्रश्नपत्र पठाएको जानकारी दिए ।
परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर)मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।
बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित रुपमा सम्पन्न गर्न बोर्डले सबै सरोकारवाला निकाय तथा आम नागरिकमा आह्वान गरेको छ ।