काठमाडौँ । आइतबार बिहानदेखि हराएको तारा एयर जहाजको पाइलटका मोबाइलको नेटवर्कले काम गरिरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार विमानका पाइलटको मोबाइल नेटवर्कले काम गरिरहेको पाइएको हो ।
सोहीअनुरुप लोकेसन ट्रेसिङ भइरहेको छ । धावालागिरी हिमाल नजिकै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरेको देखिएको हो ।
पोखरा विमानस्थलबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
विमान उडेको १२ मिनेट अर्थात १० बजेर ७ मिनेट जाँदासम्म जहाज सम्पर्कमा रहेको थियो । विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापासहित २२ जना रहेका थिए । जसमा १३ नेपाली, ४ भारतीयसहित २ जर्मन नागरिक यात्रु रहेका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जोमसोम आकाशमा देखिएको जहाज धौलागिरि हिमालबाट फर्किएपछि सम्पर्कमा आएको छैन ।