काठमाडौं- आज १ नोभेम्बर। विश्व इतिहासका विभिन्न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १७५५- २७० वर्षअघि ५० हजारको ज्यान लिएको त्यो भूकम्प
आजभन्दा २७० वर्षअघि आजकै दिन पोर्चुगलको लिस्बनमा महाभूकम्प गएको थियो। त्यसमा परी ५० हजार जनाको ज्यान गएको अनुमान छ। उक्त भूकम्प ७.७ रेक्टर स्केलभन्दा ठूलो रहेको आकलन छ। भूकम्पबाट पोर्चुगल, आइबेरियन प्रायद्विप र उत्तर-पश्चिमी अफ्रिकासम्म प्रभावित भएका थिए। भूकम्पका कारण लिस्बन क्षतविक्षत भएको थियो। भूकम्पको केन्द्रविन्दु एटलान्टिक महासागरमा रेकर्ड गरिएको थियो। भूकम्पपछि भएको आगलागी र आएको सुनामीले ठूलो क्षति पुर्याएका थिए।
– सन् १९११- जहाजबाट पहिलोपटक बम खसालियो
सन् १९११ मा आजकै दिन पहिलोपटक जहाजबाट बम खसालिएको थियो। त्यसअघि आकाशबाट बम खसाउनु पर्दा बेलुनको प्रयोग गरिन्थ्यो। इटाली र टर्कीबीच भएको युद्धमा इटालीले जहाजबाट टर्कीको क्षेत्रमा बम खसालेको थियो।
– सन् १९५२- पहिलो विशाल हाइड्रोजन बम परीक्षण
अमेरिकाले आजकै दिन पहिलो विशाल हाइड्रोजन बम परीक्षण गरेको थियो। उक्त बमलाई ‘माइक’ कोड नाम दिइएको थियो। अपरेसन ‘आईभी’को एक हिस्साको रूपमा मार्सल आइल्यान्डको एचिवेटोक एटोलमा उक्त परीक्षण गरिएको थियो।
– सन् १९५५- युनाइटेड एयरलाइन्सको जहाजमा बम विष्फोट
अमेरिकाको युनाइटेड एयरलाइन्सको जहाजमा आजकै दिन आकाशमै बम विष्फोट भएको थियो। उडान नम्बर ६२९ तथा एन-३७५५९ कल साइनको डीसी-६बी जहाज कोलोराडोमाथिको आकाशमा विष्फोट हुँदा त्यसमा सवार सबै ५५ जनाको ज्यान गएको थियो। लगेजमा लुकाएर राखिएको बम विष्फोट भएको खुलेको थियो।
– सन् १९९३- मास्ट्रिच सन्धि कार्यान्वयनमा
युरोपमा आजकै दिन मास्ट्रिच सन्धि कार्यान्वयनमा आएको थियो। सोही सन्धिमार्फत युरोपमा साझा मुद्रा युरो लागू भएको थियो। युरोपियन युनियनमा आबद्ध मुलुकहरूले युरोमार्फत कारोबार गर्दै आएका छन्।
– सन् २०१२- पहिलो तारामा प्रकाशको साक्ष्य
वैज्ञानिकहरूले ब्रह्माण्डको पहिलो ताराको साक्ष्य पत्ता लगाएका थिए। उक्त ताराको निर्माण बिग ब्याङको ५० करोड वर्ष पछाडि भएको थियो।
– सन् २०२३- अन्तरिक्ष यात्रीले गुमाए टुल ब्याग
सन् २०२३ मा आजकै दिन अन्तर्राष्ट्रीय स्पेस स्टेसनमा बसिरहेका दुई अन्तरिक्ष यात्रीले आफ्नो टुल ब्याग हराएका थिए। बाहिर निस्केर स्पेस वाक गर्ने क्रममा उनीहरू दुवैको टुल ब्याग हराएको थियो। जसका कारण घर्षण उत्पन्न भएर वायु मण्डलमै उनीहरू जल्ने खतरा पैदा भएको थियो।
– सन् २०२३- टाउको विस्तारबाट बन्छन् स्टारफिसका हात
एक नयाँ अध्ययनबाट स्टारफिसका हातहरू शरीरका अलग्गै अंग नरहेको पुष्टि भएको थियो। अध्ययनका अनुसार स्टारफिसको टाउकोको विस्तारबाट हातजस्तो अंग विकास हुने पाइएको थियो।