काठमाडौं- कोरोना महामारीबाट तग्रिन नपाउँदै विश्वमा अर्को महामारी देखिन शुरु भएको छ। केही दिनयता दुई दर्जनभन्दा बढी देशमा मंकीपक्स नामक संक्रमण फैलिरहेको छ।
मंकीपक्स भाइरस जनावरको माध्यमबाट सर्ने रोग मानिन्छ। विशेषगरी स-साना स्तनधारी जनावर, अफ्रिकी मुसालाई मंकीपक्स भाइरस फैलाउने स्रोतका रूपमा लिने गरिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए। डा. पुनले विशेषगरी न्याउरीमुसा र बाँदरबाट सरेको पाइएको बताए।
उनका अनुसार मंकीपक्स संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। अहिले अफ्रिकी मुलुकबाहिर देखिएको मंकीपक्सको लहर मानिसबाट मानिसमा सरिरहेको मानिएको डा. पुन बताउँछन्।
यस्तै, विश्व स्वास्थ्य संगठनले यसलाई स्मलपक्स (बिफर) कै एउटा प्रजाति भएको जनाएको छ। मंकीपक्स संक्रमणबाट हुने बिमिरा पहिले अनुहारमा देखिन्छ। त्यसपछि विस्तारै शरीरका विभिन्न भागहरू जस्तैः टाउको, हत्केला र पैतालामा फैलिन्छ।
डा. पुनले विशेषगरी पुरुष-पुरुषबीच हुने यौन सम्पर्क (मेन सेक्स विथ मेल)को माध्यमबाट पनि मंकीपक्स संक्रमण सरेको पाइएको जनाएका छन्। भन्छन्, ‘अहिले फैलिएको मंकीपक्सको बिमिरा-घाउ गुप्तांग र गुदद्वारजस्ता अंगमा बढी देखिएको पाइएको छ। जसले अन्य व्यक्तिमा भाइरस सर्ने जोखिम बढ्छ।’ तर, पुरुष-षुरुषबीच किन बढी सरेको हो भन्ने प्रष्ट खुलिनसकेको र उक्त कुरा अध्ययनको क्रममा रहेको उनले बताए।
डा. पुनका अनुसार मंकीपक्स संक्रमण भएको ५-२१ दिनसम्ममा यसको लक्षण देखापर्छ। संक्रमण भएपछि पहिलो चरणमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, शरीरका मांसपेसी दुख्ने, लिम्फग्रन्थी सुन्निने तथा आलस्य हुनेजस्ता लक्षण देखिन्छन्।
यस्ता लक्षण नेपालमा देखिरहेका अन्य संक्रामक रोगसँग समेत मिल्दोजुल्दो हुने भएकाले संक्रमित तथा स्वास्थ्यकर्मीले समेत मंकीपक्स हो वा अन्य संक्रामक रोग भनेर शुरुमा पहिचान गर्नसमेत कठिन हुनेमा डा. पुन सतर्क गराउँछन्।
त्यसैगरी मंकीपक्स संक्रमित व्यक्तिको दोस्रो चरणको लक्षणका रूपमा ज्वरो आएको तीन दिनमा शुरु हुन्छ। दोस्रो चरणको शुरुवाती दिनमा छालामा बिमिरा देखिन शुरु हुन्छ। विशेषगरी संक्रमितका अनुहार तथा हातखुट्टामा अत्यधिक बिमिरा देखिने डा. पुनले जानकारी दिए। यससँगै गुप्तांग र गुदद्वारलगायत शरीरका अन्य अंगमा समेत बिमिरा देखिन्छन्।
यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने डा. पुन बताउँछन्। मंकीपक्स लक्षण देखिएको ५ देखि २१ दिनसम्म निको हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ। अरू व्यक्तिमा सर्ने सम्भावना पनि यही समयावधिमा नै बढी हुन्छ। मंकीपक्सले सिकिस्त बनाउने र अस्पताल भर्ना हुने सम्भावना कम रहने विश्व स्वास्थ्य संगठनले जिकिर गरेको छ।
हाल अस्ट्रेलिया, इजरायल, स्विट्जरल्यान्ड, क्यानाडा, अमेरिका, बेलायत, बेल्जियम, स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्विडेनमा मंकीपक्स फैलिएको छ।
के छ नेपालको तयारी ?
विश्वभर मंकीपक्सबाट नेपालमा पनि खतरा हुनसक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिन र क्वारेन्टिनमा बस्ने
कुरामा जोड दिनुपर्ने बताए।
विदेशबाट आउने नेपाली र विदेशी नागरिकले कम्तिमा दुई साता अनिवार्य क्वारेन्टिनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल हात धुने बानीको विकासमा गर्नुपर्ने उनको भनाइ छ।
अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको जिकिर गरे। ‘सीमा नाकाहरूमा निगरानी बढाएका छौं। विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जानेछौं,’ उनले भने।
परीक्षण तथा उपचार
संक्रमितको बिमिरा-घाउबाट नमूना लिई पीसीआरमार्फत संक्रमणको पहिचान गर्न सकिन्छ। मंकीपक्सको उपचारका लागि विशेष किसिमका औषधि भने छैनन्। तर, बिफरका लागि प्रयोग गरिएको औषधि तथा खोप मंकीपक्सविरुद्धको उपचारका लागि प्रभावकारी मानिएको डा. पुन बताउँछन्।
उनका अनुसार बिफरका लागि प्रयोग गरिएको खोप मंकीपक्सका लागि करिब ८५ प्रतिशत प्रभावकारी देखिएको छ। संक्रमण भएको चार दिनभित्रमा खोप लगाएमा स्वास्थ्य जटिलताबाट बच्न सकिन्छ। संक्रमित भएको दुई सातासम्ममा खोप दिनसके संक्रमणबाट हुने जटिलतालाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने डा. पुन बताउँछन्।
मंकीपक्सको संक्रमणबाट जोगिन नियमित सरसफाइमा ध्यान दिन डा. पुन सुझाउँछन्। त्यसैगरी मंकीपक्सको संक्रमण पुष्टि भएका व्यक्ति र संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्ति तीन साता आइसोलेसनमा बस्न आवश्यक हुने डा. पुन जनाउँछन्।
मानिसमा पहिलोपटक मंकीपक्स सन् १९७० मा रिपब्लिक अफ कंगोका नौ वर्षीय बालकमा देखिएको थियो। १९७० पछि बेनिन, केमरुन, मध्य अफ्रिका, कंगो, गेबान, कोटेडी आइवर, लाइबेरिया, नाइजेरिया, सियरा लियोन, दक्षिण सुडान गरी अफ्रिकाका ११ देशमा मंकीपक्स देखिएको थियो। सन् २००३ मा अफ्रिकी मुलुकहरूबाट आयातित कुकुरहरूको माध्यमबाट अमेरिकामा यो संक्रमण फैलिएको थियो। सन् २०१७ मा नाइजेरियामा पाँच सयभन्दा बढी व्यक्तिमा संक्रमणको आशंका गरिएको थियो भने दुई सयजनामा मंकीपक्स पुष्टि भएको
थियो।