काठमाडौं- पाकिस्तानले बाढीपहिरो प्रभावित नेपालीका लागि १०० टन मानवीय सहायता सामग्री नेपाल पठाएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफको निर्देशनमा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) को समन्वयमा टेन्ट, कम्बल, म्याट, सरसफाइ सामग्री र औषधिसहितको सहायता सामग्री पठाइएको हो।
गए राति उक्त राहत सामग्री विज्ञान मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ।
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार सहायता सामग्री बोकेको कतार एयरको चार्टर्ड विमान इस्लामाबादबाट काठमाडौंका लागि उडेको थियो।
इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलमा सहायता सामग्री पठाउनुअघि आयोजित कार्यक्रममा संघीयमन्त्री तारिक फजल चौधरीसहित पाकिस्तानका लागि नेपालकी राजदूत रीता धिताल, विदेश मन्त्रालय, एनडीएमएलगायतका अधिकारी उपस्थित थिए ।
पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इशाक डारले सामाजिक सञ्जाल एक्समार्फत नेपालमा सहायता पठाइएको जानकारी दिँदै बाढीपहिरोमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गरेका थिए। प्रभावित नेपालीप्रति पाकिस्तानको साथ र ऐक्यबद्धता रहेको उल्लेख गर्दै कठिन घडीमा नेपाललाई आवश्यक सबै सहयोग गर्न पाकिस्तान तयार रहेको उनले बताएका छन् ।