ओम्दुरमान- युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो समयसम्म हुने विद्युत कटौतीबाट जोगिन सर्वसाधारण सौर्य ऊर्जातर्फ आकर्षित हुन थालेका छन् । तर, सौर्य प्यानल, ब्याट्री र इन्भर्टर जडानको उच्च लागतका कारण अधिकांश परिवारका लागि यो विकल्प अझै पहुँचबाहिर छ ।
राजधानी खार्तुम नजिकैको ओम्दुरमानमा तीन छोराछोरीसँग बस्दै आउनुभएकी ३१ वर्षीया गृहिणी रान्दा अल–मन्सुरले करिब एक वर्षदेखि घरको छतमा जडान गरिएको सौर्य प्रणाली प्रयोग गर्दै आउनुभएको छ ।
“हामी निकै कष्ट भोगिरहेका छौँ”, उहाँले भन्नुभया,े “बिहान विद्यालय पुग्दा बिजुली हुँदैन, त्यसैले बालबालिकाहरू घर फर्कन बाध्य हुन्छन् । घरमा पनि बिजुली हुँदैन । यस्तो उच्च तापक्रममा उनीहरूलाई पढ्न निकै गाह्रो हुन्छ ।”
सुडानी सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच सन् २०२३ अप्रिलदेखि जारी युद्धले देशको कमजोर विद्युत पूर्वाधारलाई थप क्षति पु¥याएको छ ।
यस युद्धमा कम्तीमा ५९ हजार मानिसको मृत्यु भएको अनुमान छ भने करिब एक करोड ३० लाख मानिस विस्थापित भएका छन् । सहायता समूहहरूले वास्तविक मृतक सङ्ख्या अझ बढी हुन सक्ने बताएका छन् ।
विद्युत उत्पादनमा ठूलो गिरावट
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का अनुसार युद्धका कारण सुडानको विद्युत प्रणालीमा भएको क्षति करिब ८८३ अर्ब अमेरिकी डलर बराबरको छ ।
विद्युत विभागका अधिकारीहरूका अनुसार युद्धअघि करिब चार हजार ४०० मेगावाट रहेको विद्युत उत्पादन क्षमता अहिले घटेर करिब एक हजार १०० मेगावाटमा सीमित भएको छ । धेरै विद्युत केन्द्र आरएसएफले प्रहार गरेका ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएका छन् ।
युद्धका कारण विद्युत क्षेत्रका दक्ष जनशक्तिको पनि ठूलो कमी भएको छ । अधिकारीहरूका अनुसार देशका करिब आधा दक्ष विद्युत इन्जिनियर तथा प्राविधिक सन् २०२३ यता देश छाडिसकेका छन् ।फलस्वरूप, हालैका महिनाहरूमा सुडानका कतिपय क्षेत्रमा दैनिक १६ घण्टासम्म विद्युत कटौती हुने गरेको छ ।
सौर्य ऊर्जाको माग बढ्दो
विद्युत सङ्कट गहिरिँदै गएपछि राजधानीका सडकमा सौर्य प्यानल, ब्याट्री र इन्भर्टर बिक्री गर्ने कम्पनीका विज्ञापन तथा होर्डिङ बोर्ड बढेका छन् ।
खार्तुममा सौर्य ऊर्जा प्रणालीको व्यवसाय सञ्चालन गर्ने मोहे एडिन अबु–बर्कका अनुसार कम आय भएका परिवारका लागि सौर्य प्रणाली जडान गर्नु ठूलो आर्थिक बोझ भए पनि धेरैका लागि यो आवश्यक विकल्प बनेको छ ।
उहाँका अनुसार सामान्य घरका लागि करिब दश किलोवाट क्षमताको सौर्य प्रणाली जडान गर्न करिब पाँच हजार डलर खर्च लाग्न सक्छ ।
“कम आय भएको परिवारका लागि यो ठूलो त्याग हो”, अबु–बर्कले भन्नुभयो, “तर यो अपरिहार्य विकल्प पनि बनेको छ ।” तर, सबै परिवारले उक्त रकम जुटाउन सक्दैनन् । साउदी अरबमा कार्यरत श्रीमान्ले पठाउने रकमबाट घर खर्च चलाउँदै आएकी अल–मन्सुरले आफूहरूले सौर्य ऊर्जा रोजे पनि सुडानका सबै परिवारले यस्तो प्रणाली जडान गर्न नसक्ने बताउनुभयो ।
विद्युत सङ्कटको असर घरायसी जीवनमा मात्र सीमित छैन । स्वास्थ्य क्षेत्रमा समेत यसको गम्भीर प्रभाव परेको छ । ४३ वर्षीया सरकारी कर्मचारी तथा मधुमेहकी बिरामी मनहेल मदनीलाई इन्सुलिन सुरक्षित राख्न निरन्तर विद्युत आवश्यक पर्छ । तर, बारम्बार हुने विद्युत कटौतीका कारण उहाँले औषधि बिग्रिनुएपछि पटक–पटक फाल्नुपरेको बताउनुभयो ।
“हरेक तीन–चार दिनमा गर्मी र विद्युत कटौतीका कारण बिग्रिएको इन्सुलिनको सम्पूर्ण स्टक फाल्न बाध्य हुन्छु”, उहाँले भन्नुभयो ।
ओम्दुरमानमा आमा र बहिनीसँग दुई शयनकक्षको घरमा बस्ने मदनीका लागि गर्मीबाट बच्नु पनि चुनौतीपूर्ण बनेको छ । विद्युत नहुँदा उनीहरू घरभित्रको चर्को गर्मी छल्न आँगनमा सुत्ने गर्छन् ।
उहाँका अनुसार धेरै फार्मेसीले औषधि भण्डारणका लागि आवश्यक सौर्य प्रणाली जडान गर्न सक्दैनन् । यसले अत्यावश्यक औषधिको उपलब्धतामा समेत असर परेको छ ।
सुडान डाक्टरहरूको नेटवर्कले पनि लगातार विद्युत कटौतीका कारण अस्पतालमा उपचाररत बिरामी प्रभावित हुन सक्ने चेतावनी दिएको छ । विशेषगरी निरन्तर उपचार र उपकरणको आवश्यकता पर्ने मिर्गौलाका बिरामी जोखिममा रहेको उसले जनाएको छ ।
विश्व बैङ्कका अनुसार सुडानको कम्तीमा ३० प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच छैन, जसको सबैभन्दा ठूलो असर ग्रामीण क्षेत्रमा परेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार वर्षमा चार हजार घण्टाभन्दा बढी घाम लाग्ने भएकाले सुडानमा सौर्य ऊर्जा उत्पादनको ठूलो सम्भावना छ । तर, आयातित सौर्य प्रणालीको उच्च प्रारम्भिक लागत र स्थानीय मुद्राको निरन्तर अवमूल्यनले सर्वसाधारणका लागि सौर्य ऊर्जामा सङ्क्रमण कठिन बनाएको छ ।