काठमाडौँ । नेकपा एमालेले पोखरा महानगर वडा नं १८ मा पुनः मत गणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो ।
उक्त वडाको आज बिहान अन्तिम नतिजा घोषणा हुँदा तीन मत अन्तरले नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद तिमल्सिना विजयी भएको घोषणा गरिएको थियो ।
उक्त वडामा पुनः मत गणनाका लागि माग गर्दै एमालेबाट निवेदन आएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । निवेदनका सम्बन्धमा निर्वाचन कानुनअनुसार अघि बढ्ने उनले बताए ।
महानगरमा खसेको कूल एक लाख ४३ हजार २२६ मतमा अब करिब पाँच हजार मत गन्न बाँकी छ । महानगरका वडा नं २२, ३२ र ३३ को मत गणना बाँकी रहेको जनाइएको छ । हालसम्म २२ वटा वडामा कांग्रेस विजयी भएको छ भने आठ वटा वडामा एमाले विजयी भएको छ ।
यस्तै, महानगरको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ५६ हजार ४७१ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कृष्ण थापाले ५१ हजार १८५ मत प्राप्त गरेका छन् ।
उमप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५८ हजार ५८२ मतसहित अघि हुँदा गठबन्धनका तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मतसहित पछ्याइरहेकी छन् ।