काठमाडौं- आज ६ सेप्टेम्बर। विश्व इतिहासमा भएका विभिन्न घटनाले आजको दिनलाई स्मरण गराउँछन्। तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १५२२- भिक्टोरिया बन्यो विश्व परिक्रमा गर्ने पहिलो पानीजहाज
स्पेनको पानीजहाज भिक्टोरियाले पहिलोपटक विश्वको परिक्रमा गरेर कीर्तिमान राखेको थियो। उक्त जहाजको कप्तानी पोर्चुगलका खोजकर्ता फर्डिनेन्ड म्यागलनले गरेका थिए। २० सेप्टेम्बर १५१९ मा स्पेनबाट समुद्रमा तैरिन थालेको थियो, यो पानीजहाज। यो अभियानमा अन्य ५ जहाज र चालक दलका २६० सदस्य सहभागी थिए। अभियानकै दौरान यसका कप्तान म्यागलनको निधन भएको थियो। र, केवल चालक दलका १८ सदस्यले मात्र यो पानीजहाजमार्फत विश्व परिक्रमा गर्न सफलता पाएका थिए।
– सन् १८७०- अमेरिकामा महिलाद्वारा पहिलोपटक मतदान
अमेरिकामा १५६ वर्षअघि एक महिलाले राज्यस्तरीय चुनावमा मतदान गरेकी थिइन्। उनी थिइन्, लुइजा एन स्वेन। उनी ब्योमिङ राज्यमा मतदानमा सहभागी भएकी थिइन्। जब कि, अमेरिकामा महिलालाई मतदानको अधिकार सन् १९२० सम्म दिइएको थिएन। तथापि, ब्योमिङका तत्कालीन गभर्नर जोन ए क्याम्पवेलले १३ डिसेम्बर १८६९ मा एक विधेयकमा हस्ताक्षर गरेका थिए, जसबाट महिलालाई पनि मतदानमा सहभागी हुने अधिकार दिएको थियो। तर, स्थानीय र राज्यस्तरका चुनावमा मात्र उनीहरूले मतदानको अधिकार पाएका थिए, देशव्यापी चुनावमा होइन।
– सन् १९६८- अंग्रेजबाट स्वाजिल्यान्ड स्वतन्त्र
दक्षिण अफ्रिकी मुलुक स्वाजिल्यान्ड आजकै दिन अंग्रेजबाट मुक्त भएको थियो। यो मुलुकमाथि ब्रिटेनले सन् १९०२ मा कब्जा गरेको थियो। अंग्रेजबाट मुक्त भएपछि राजा सोबुजाले सन् १९८२ सम्म स्वाजिल्यान्डमा राज्य गरेका थिए। हालका राजा मस्वाति तृतीय उनकै छोरा हुन्।
– सन् १९९९- सुआई चर्च नरसंहार
पूर्वी टिमोरस्थित सुआई चर्चमा भएको नरसंहारमा २०० भन्दा बढीको ज्यान गएको थियो। इन्डोनेसिया समर्थित मिलिसियाले उक्त चर्चमा आक्रमण गरेका थिए। यही नरसंहार नै अन्ततः पूर्वी टिमोरलाई इन्डोनेसियाबाट स्वतन्त्रता दिलाउने प्रस्थान विन्दु बनेको थियो।
– सन् २००७- सिरियामा आक्रामक इजरायल
इजरायलले आजकै दिन छिमेकी मुलुक सिरियामा सैन्य अपरेसन शुरु गरेको थियो। इजरायली वायु सेनाले गरेको त्यस कारवाहीलाई ‘अपरेसन अर्कार्ड’ नाम दिइएको थियो। सिरियाको डेयर अल-जोर इलाकामा सम्भावित न्युक्लियर रियाक्टर नष्ट गर्न उक्त अपरेसन चलाइएको थियो।
– सन् २०१२- ६१ अवैध आप्रवासी मारिए
सन् २०१२ मा आजकै दिन टर्कीको समुद्री किनारमा एक डुंगा डुब्दा ६१ जना अवैध आप्रवासीको ज्यान गएको थियो।
– सन् २०१८- मेक्सिकोमा भेटियो १६६ जनाको सामूहिक चिहान
सन् २०१८ मा आजकै दिन मेक्सिकोमा १६६ जनाको सामूहिक चिहान फेला परेको थियो। मेक्सिकोको भेराक्रुज राज्यमा फेला परेको उक्त चिहान २ वर्ष मात्र पुरानो भएको पत्ता लागेको थियो।
– सन् २०२२- भियतनाम आगलागीमा ३२ मारिए
सन् २०२२ मा आजकै दिन भियतनामको होचिमिन्ह सिटीमा भएको आगलागीमा ३२ जना मारिएका थिए। एक काराओके बारमा आगो लागेको थियो।
– सन् २०२३- युक्रेनको व्यस्त बजारमा रुसी हमला, मारिए १७
सन् २०२३ मा आजकै दिन युक्रेनको कोस्ट्यानटिनिभ्का शहरमा रुसले क्षेप्यास्त्र प्रहार गरेको थियो। व्यस्त बजारमा दिउँसो गरिएको उक्त हमलामा १७ जनाको ज्यान गएको थियो।
– सन् २०२५- बेलायती संसदमा प्रदर्शन गर्ने ८९० पक्राउ
सन् २०२५ मा आजकै दिन लन्डनस्थित बेलायती संसद परिसरमा करिब १ हजार ५०० जनाले प्यालेस्टिन एक्सन समूहलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध प्रदर्शन गरेका थिए। त्यस क्रममा ८९० जनालाई आतंकवादी कानूनअनुसार कारवाही गर्न गिरफ्तार गरिएको थियो।