सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित निजी क्षेत्र र प्रदेश सरकारबीच बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकतासाथ सम्बोधन गर्ने बताउनुभएको हो ।
मुख्यमन्त्री भट्टले प्रदेशको ‘रातो किताब’ रकम वितरण गर्ने पुलिन्दा नभई प्रदेशको समृद्धिको मार्गचित्र बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “बजेटले प्रदेशको आवश्यकता, सम्भावटना र जनताको अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ । त्यसका लागि यसपटकको बजेटमा हाम्रो प्रयास रहन्छ”, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री भट्टले सुशासनमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रदेशमा रहेका बेथिति र अनियमितता नियन्त्रण गर्न सरकार निर्मम भएर अघि बढ्ने बताउनुभयो । बेथितिका विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट गर्दै उहाँले सुदूरपश्चिमको विकास र रूपान्तरणका लागि पनि सबै पक्ष गम्भीर भएर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । प्रदेश निर्माणको अभियानमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
अन्तरक्रियामा निजी क्षेत्रका व्यवसायीले सुदूरपश्चिममा रहेका सम्भावना तथा आफूहरूले भोग्दै आएका समस्या र चुनौतीबारे धारणा राख्नुभएको थियो । उहाँहरूले कृषि, उद्योग तथा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टलगायतको सहभागिता थियो ।