काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीन तह निर्वाचनको मत परिणाम अन्तिम अवस्थामा पुगेको छ । जसमा नेपाली कांग्रेस सबैभन्दा धेरै ठाउँमा जित्दै ठूलो दल बनेको छ ।
कूल ७५३ स्थानमा भएको निर्वाचनमध्ये ७२७ वटा पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा कांग्रेस ठूलो दल बन्दा नेकपा एमाले दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्र तेस्रो दल बन्दा जनता समाजवादी पार्टी चौथो बनेको छ ।
कांग्रेसले ३२० स्थानमा जित हात पार्दा एमालेले हालसम्म १९८ स्थानमा जितेको छ । यस्तै, माओवादी केन्द्र १२० स्थानमा जित्दा जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख पद जितेको छ । एकीकृत समाजवादीले १७ वटा पालिकामा जितेको छ ।
त्यसैगरी लोकतान्त्रिक समाजवादीले १४ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थान, राष्ट्रिय जनमोर्चाले ४ स्थान, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख जितेको छ ।
यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख जित्दा नेपाल मजदुर किसान पार्टीले एक स्थानमा जित हात पारेको छ ।
यता विवेकशील साझा पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जित्दा जनप्रगतिशील पार्टीले एक स्थानको प्रमुखमा जितेको छ । यसैगरी देशभरबाट १२ जना स्वतन्त्र उम्मेदवारले २ उपमहानगरसहित पालिकाको प्रमुख जित्न सफल भएको छ ।
अब नतिजा आउन बाँकी पालिकामध्ये एमालेले ६, कांग्रेसले ५, जसपाले ३, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रका २–२ स्थानमा अग्रता लिएका छन् । यस्तै, २ वटा पालिकामा मत गणना रोकिएको छ ।