काठमाडौं- आज १० अगस्ट। विश्व इतिहासका अनगिन्ति घटनाले संसारभर आजको दिन सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९९०- शुक्र ग्रहको कक्षमा अन्तरिक्ष यान
सन् १९९० मा आजकै दिन शुक्र ग्रहको कक्षमा म्यागेलन नामक अन्तरिक्ष यान स्थापित गरिएको थियो। स्पेस सटलमार्फत प्रक्षेपित त्यो पहिलो रोबोटिक यान थियो, जसले शुक्र ग्रहका बारेमा विवरण संकलन गर्न ८ महिना बितायो। शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह भन्ने गरिएको छ। उक्त यानलाई ४ मे १९८९ मा अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो। वर्षदिनभन्दा बढी समय लगाएर उक्त ग्रह शुक्र ग्रहको कक्षमा स्थापित भएको थियो।
– सन् २००१- अंगोलामा रेलमा आक्रमण, अढाइ सयको मृत्यु
सन् २००१ मा आजकै दिन दक्षिण अफ्रिकी मुलुक अंगोलामा यात्रुवाहक रेलमाथि आतंकवादी आक्रमण भएको थियो। त्यसमा परी २५० जनाले ज्यान गुमाएका थिए। ‘नेसनल युनियन फर टोटल इन्डिपेन्डेन्स अफ अंगोला’ नामक लडाकु समूहले एन्टी-ट्यांक माइनमार्फत रेलको लिकमा विष्फोट गराएर यात्रीमाथि अन्धाधुन्द गोली बर्साएको थियो।
– सन् २००३- अन्तरिक्षमा बिहे गर्ने पहिलो मानव
सन् २००३ मा आजकै दिन रुसी खगोलशास्त्री युरी मालेन्चेन्कोले अन्तरिक्षमा विवाह गर्ने पहिलो मानवको रेकर्ड राखेका थिए। उनी अन्तर्राष्ट्रीय स्पेस स्टेसन (आईएसएस)मा पृथ्वीको परिक्रमा गरिरहेका थिए भने उनकी बेहुली एकाटेरिना दिमित्रिएभा अमेरिकाको टेक्ससमा थिइन्। अमेरिकी अन्तरिक्ष अभियान नासाको स्याटेलाइट हुकअपमार्फत विवाह गराइएको थियो।
– सन् २०१८- १० लाख उइगुर चिनियाँ प्रहरीको नियन्त्रणमा
सन् २०१८ मा आजकै दिन चीन सरकारले उइगुर समुदायका १० लाख जनालाई ‘उग्रवाद-विरोधी केन्द्र’हरूमा नियन्त्रणमा राखिएको तथ्य सार्वजनिक भएको थियो। संयुक्त राष्ट्र संघीय मानव अधिकार समितिले उक्त तथ्य सार्वजनिक गरेको थियो।
– सन् २०१९- चीन पहिरोमा मारिए ३२
सन् २०१९ मा आजकै दिन चीनको जेज्याङ प्रान्तमा गएको पहिरोमा परी ३२ जना मारिएका थिए। लेकिमा नाम दिइएको तुफानका कारण भएको अविरल वर्षापछि पहिरो गएको थियो। त्यसबाट बचाउन १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो।
– सन् २०१९- भारतमा बाढीबाट डेढ सय मारिए
सन् २०१९ मा आजकै दिन भारतको दक्षिण र पश्चिमी भेगमा बाढीमा परी कम्तिमा डेढ सयको ज्यान गएको थियो। तीमध्ये केरलाका मात्र ४० जनाले ज्यान गुमाएका थिए।
– सन् २०२३- १७ रोहिंग्या मारिए, ३० बेपत्ता
सन् २०२३ मा आजकै दिन बंगालको खाडीमा भएको डुंगा दुर्घटनामा म्यानमारको रोहिंग्या समुदायका १७ जना मारिएका थिए। डुंगामा सवार ३० जना बेपत्ता भएका थिए, जो कहिल्यै भेटिएनन्। रोहिंग्या शरणार्थीहरू मलेसियातर्फ जाँदै थिए। सोही क्रममा डुंगा समुद्रमा डुबेको थियो।
– सन् २०२४- इजरायलले हत्या गर्यो गाजाका ९३ जनाको
सन् २०२४ मा आजकै दिन इजरायलले गाजाका स्कुल र मस्जिदमा आक्रमण गरी ९३ जनाको ज्यान लिएको थियो। कथित हामा कमान्ड पोस्टमा हवाई आक्रमण गरी इजरायलले बालबालिकासहित उक्त संख्याका स्थानीयवासीको हत्या गरेको थियो।