काठमाडौं- आज ७ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आज भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९९८- २ अफ्रिकी मुलुकका अमेरिकी दूतावासमा आतंकवादी आक्रमण, २०० को मृत्यु
सन् १९९८ मा आजकै दिन अफ्रिकी मुलुक तान्जानियाको दारेसलाम र केन्याको नैरोबीमा आतंकवादी आक्रमण भएको थियो। त्यसमा परी २०० भन्दा बढीको ज्यान गएको थियो। दुवै राजधानी शहरमा भएको उक्त आक्रमणको जिम्मेवारी अन्तर्राष्ट्रीय आतंकवादी संगठन अल कायदासँग जोडिएको इजिप्सियन इस्लामिक जिहादले लिएको थियो।
– सन् २००८- रुस र जर्जियाबीच छेडियो युद्ध
सन् २००८ मा आजकै दिन रुस र जर्जियाबीच युद्ध शुरु भएको थियो। जर्जियाबाट अलग भएका ओसेसिया र अब्खाजिया क्षेत्रको मामिलालाई लिएर युद्ध भड्किएको थियो। सन् १९९० को दशकको शुरुमा जर्जियाका ती प्रान्त अलग भएका थिए। अन्तर्राष्ट्रीय समुदायले त्यसलाई मान्यता दिएका थिएनन्। रुसले दुवै प्रान्तको स्वतन्त्रतालाई मान्यता दिँदै कथित शान्ति सेना तैनाथ गरेको थियो। सन् २००८ मा रुसले सैन्य तैनाथी अझ बढाएपछि दुई मुलुकबीच तनाव शुरु भएको थियो। रुसको जितका साथ युद्ध अन्त्य भयो। र, जर्जियाले दुवै प्रान्तका केही इलाका रुसका लागि छाड्नुपर्यो।
– सन् २०१३- कराँची विष्फोटमा गयो ११ को ज्यान
सन् २०१३ मा आजकै दिन पाकिस्तानको कराँचीमा भएको बम विष्फोटमा परी ११ जनाको ज्यान गएको थियो। कराँचीको फुटबल मैदान नजिक मोटरसाइकलमा राखिएको बम विष्फोट भएको थियो। मारिने र घाइते हुने अधिकांश किशोर-किशोरी थिए। त्यसको जिम्मेवारी कुनै समूहले लिएनन्।
– सन् २०१९- एकै दिन ७०० आप्रवासी समातिए
सन् २०१९ मा आजकै दिन अमेरिकाको मिसिसिपीमा एक साथ ७०० अवैध आप्रवासी समातिएका थिए। त्यो त्यतिबेलाको सबैभन्दा ठूलो गिरफ्तारी थियो।
– सन् २०२२- गाजामा युद्ध विराम
सन् २०२२ मा आज गाजा क्षेत्रमा युद्धविराम कार्यान्वयनमा आएको थियो। गाजामा भएको त्यसअघिको तीनदिने हिंसामा ४३ जनाले ज्यान गुमाएका थिए। इजरायली सेना र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकु समूहबीच हिंसा भड्किएको थियो।
– सन् २०२४- ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप
सन् २०२४ मा ५ वटा अफ्रिकी मुलुकहरूमा मंकिपक्स भाइरसको प्रकोप फैलिएको थियो। डेमोक्रेटिक रिपब्लिक अफ कंगो, युगान्डा, रुवान्डा, बुरुन्डी र केन्यामा महामारीकै रूपमा भाइरस सल्किएको थियो।