काठमाडौं- आज ३० जुलाई। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९४५- ‘यूएसएस इन्डियानापोलिस’सँगै मारिए ९०० मानिस
अमेरिकाकाको युद्धपोत ‘यूएसएस इन्डियानापोलिस’लाई सन् १९४५ मा आजकै दिन जापानको पनडुब्बीले समुद्रमा डुबाइदिएको थियो। उक्त पानीजहाजले परमाणु बमका कम्पोनेन्टहरू आपूर्ति गरिरहेको पत्ता लगाएर जापानी पनडुब्बीले त्यसलाई समुद्रमा डुबाइदिएको थियो। सोही पानीजहाजले आपूर्ति गरेका कम्पोनेन्टहरूबाट बनाइएका दुई परमाणु बम पछि जापानका हिरोसिमा र नागासाकीमा खसालिएका थिए। उक्त पानीजहाजसँगै त्यसमा सवार करिब ९०० जनाको ज्यान गएको थियो। यो दोस्रो विश्वयुद्धको मुख्यमध्येको एक घटना हो।
– सन् १९८०- भानुआटु स्वतन्त्र
दक्षिणी प्रशान्त महासागरीय टापु मुलुक भानुआटु सन् १९८० मा आजकै दिन स्वतन्त्र भएको थियो। त्यतिन्जेल उक्त मुलुक फ्रान्स र बेलायतको अधीनमा थियो।
– १९९०- मोनरोभियाको चर्चमा मारिए ६००
सन् १९९० मा आजकै दिन पश्चिम अफ्रिकी मुलुक लाइबेरियाको राजधानी मोनरोभियास्थित एक चर्चमा सैनिकहरू प्रवेश गरी अन्धाधुन्द गोली बर्साएका थिए। घटनामा २०० देखि ६०० मानिस मारिएको अनुमान छ।
– सन् २००२- दोस्रो कंगो युद्ध अन्त्य
सन् २००२ मा आजकै दिन दोस्रो कंगो युद्ध समाप्त गर्ने प्रिटोरिया सम्झौतामा हस्ताक्षर भएको थियो। डेमोक्रेटिक रिपब्लिक अफ कंगो र रुवान्डाबीच उक्त सम्झौता सम्पन्न भएको थियो।
– सन् २०१८- भारतका ४० लाख मानिस नागरिकताविहीन
सन् २०१८ मा भारतको आसाम राज्यमा ४० लाख मानिसलाई राष्ट्रीय नागरिक रजिस्टरबाट हटाइएको थियो। ती मानिसले राज्यबाट निर्वासित हुनुपरेको थियो।
– सन् २०२३- पाकिस्तानको आत्मघाति आक्रमणमा ४५ मारिए
सन् २०२३ मा आजकै दिन पाकिस्तानको उत्तर-पश्चिमस्थित खारमा गराइएको आत्मघाति आक्रमणमा ४५ जनाको ज्यान गएको थियो। जमियात उलेमा इस्लाम नामक धार्मिक पार्टीको र्यालीमा आत्मघाति विष्फोट गराइएको थियो।
– सन् २०२४- केरला पहिरोमा गयो १७२ को ज्यान
सन् २०२४ मा आजकै दिन भारत केरलाको वायनाड क्षेत्रमा गएको पहिरोमा परी १७२ जनाको ज्यान गएको थियो। घटनामा २२७ जना बेपत्ता भएका थिए। बेपत्ता कसैको शव अझै भेटिएको छैन।
– सन् २०२५- रुसमा ८.८ रेक्टरस्केलको भूकम्प
सन् २०२५ मा आजकै दिन रुसको काम्चट्का पेनिनसुलामा ८.८ रेक्टरस्केलको भूकम्प गएको थियो। सन् २०११ यता संसारभर गएको भूकम्पमध्ये सबैभन्दा ठूलो धक्का भइकन पनि यस भूकम्पमा एकजना पनि हताहत भएनन्। करिब १ हजार ४०० घरमा क्षति तथा ४ जना घाइते भएबाहेकको ठूलो क्षति भएन। सोही दिन सोही क्षेत्रमा ज्वालामुखी विष्फोट पनि भएको थियो।
– सन् २०२५- २५ सय वर्ष पुरानो ट्याटु
सन् २०२५ मा आजकै दिन शोधार्थीहरूले २ हजार ५०० वर्ष पुरानो ट्याटु फेला पारेका थिए। हाई रिजोलुसन तस्बिरमार्फत साइबेरिया क्षेत्रमा एक शवमा उक्त ट्याटु भेटिएको थियो।