काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा निर्वाचन आयोग दुई वटा नगरपालिकाको बारेमा अन्योल भएको छ । अधिकांश स्थानीय तहको मत गणना सकिएसँगै आयोगले दुई नगरपालिकामा पुनः मतदान गर्ने कि मत गणना गर्ने भन्ने विषयमा अन्योल भएको हो ।
बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकामा मतदान रोकिएको थियो । बुढीगंगा–५ भानोदय मावि मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ता झडप हुँदा मतदान स्थगित भएको हो । झडपपछि मतदान नै रोकिएके थियो ।
यस्तै, त्रियुगामा मतदान भइरहँदा मुसलधारे पानी परेपछि रोकिएको थियो । पानीबाट ओत लाग्न मतदाता बाहिरिएपछि मतदान अधिकृतले मतदान रोकेका थिए । यसबारे कुनै निर्णय नगरी मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले नै राजीनामा दिएका थिए ।
यसपछि उदयपुरकै न्यायाधीश उत्तम सिलवाललाई जिम्मेवारी दिए पनि अझै के गर्ने भन्नेबारे टुंगो लाग्न सकेको छैन ।