गुवाहाटी- पद्मश्री पुरस्कार विजेता, साहित्य अकादमी पुरस्कार विजेता साहित्यकार तथा भारतीय गोरखा परिसंघकी संस्थापक अध्यक्ष गीता उपाध्यायको भानु जयन्तीकै दिन सोमबार राति ९:१० बजे निधन भएको छ।
उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिइन्। उनको निधनले भारतीय गोरखा समुदायको साहित्यिक, सांस्कृतिक र सामाजिक इतिहासको एक गौरवशाली अध्यायको अन्त्य भएको छ।
सोमबार साँझ जारी गरिएको शोक वक्तव्यमा, भारतीय गोरखा परिसंघ, असम राज्य समितिले आफ्नो संस्थापक अध्यक्षको निधनमा गहिरो शोक व्यक्त गर्दै उनको असाधारण जीवन र विरासतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।
संस्थाले गीता उपाध्यायको दूरदर्शी नेतृत्व, निस्वार्थ समर्पण र भारतीय गोर्खा समुदायको उद्देश्यप्रति आजीवन प्रतिबद्धताले भारतीय गोर्खा परिसंघको जग बसालेको उल्लेख गरेको छ।
समुदायको एकता, पहिचान, मर्यादा र प्रगतिलाई सुदृढ पार्ने उनको योगदानले आगामी पुस्तालाई प्रेरणा दिइरहनेछ।
सम्मानको प्रतीकको रूपमा, भारतीय गोर्खा परिसंघ, आसाम राज्य समितिले जुलाई १४ देखि एक साता लामो शोक अवधि घोषणा गरेको छ।