काठमाडौं- आज ४ जुलाई। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १८२६- अमेरिकाका २ पूर्व राष्ट्रपतिको एकै दिन निधन
सन् १८२६ मा आजकै दिन अमेरिकाका दुई पूर्व राष्ट्रपतिको एकै दिन निधन भएको थियो। अमेरिकाका दोस्रो राष्ट्रपति जोन आडम्स र तेस्रो राष्ट्रपति थोमस जेफर्सनको आजकै दिन निधन भएको थियो। जेफर्सनको भर्जिनिया र आडम्सको म्यासाच्युसेट्समा निधन भएको थियो। दुवै ब्रिटेनको उपनिवेशविरुद्धको संघर्षका नेता थिए।
– सन् १९४६- अमेरिकाबाट फिलिपिन्स स्वतन्त्र
सन् १९४६ मा आजकै दिन दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्सले अमेरिकाबाट स्वतन्त्रता प्राप्त गरेको थियो। फिलिपिन्समा ३८१ वर्षदेखि अमेरिकालगायत विभिन्न मुलुकले शासन गरेका थिए। त्यसको शुरुवात १६औं शताब्दीमा स्पेनले कब्जा गरेपछि भएको थियो।
– सन् २०१२- हिग्स बोसन पत्ता लागेको वैज्ञानिकहरूको घोषणा
सन् २०१२ मा आजकै दिन ‘गड पार्टिकल’ हिग्स बोसन पत्ता लागेको युरोपियन अर्गानाइजेसन फर न्युक्लियर रिसर्चका वैज्ञानिकहरूले घोषणा गरेका थिए। भौतिक शास्त्रमा मायावी मानिएको उक्त कणको धर्तिमा अस्तित्व रहेको सन् १९६० कै दशकमा वैज्ञानिकहरूले सुझाएका थिए। नोबेल पुरस्कार विजेता पिटर हिग्सको नाममा उक्त कणको नाम जुराइएको हो। अन्ततः लार्ज ह्याड्रनमा काम गर्ने वैज्ञानिकहरूले त्यसलाई पत्ता लगाएका हुन्।
– सन् २०१८- चालक विनाका बसहरू उत्पादन गर्ने चिनियाँ कम्पनीको घोषणा
सन् २०१८ मा आजकै दिन चिनियाँ प्रविधि कम्पनी बैदूले चालक विनाका बसहरू उत्पादन गर्ने घोषणा गरेको थियो। १४ सिटका त्यस्ता बसहरूको मास प्रोडक्सन गर्ने उक्त कम्पनीको घोषणा थियो।
– सन् २०१९- तुतानखामुनको मूर्ति ६० लाख डलरमा बिक्री
चोरी भएर पनि बरामद गरिएको ३ हजार वर्ष पुरानो तुतानखामुनको मूर्ति ६० लाख अमेरिकी डलरमा बिक्री भएको इजिप्टले दाबी गरेको थियो।
– सन् २०२०- जापानमा वर्षाबाट मारिए ३७
जापानमा आजकै दिन भएको अविरल वर्षाका कारण ३७ जनाले ज्यान गुमाएका थिए। वर्षाबाट क्युसु टापु सबैभन्दा बढी प्रभावित भएको थियो। त्यहाँका २ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको थियो।
– सन् २०२१- सैनिक जहाज दुर्घटनामा मारिए ४५
सन् २०२१ मा आजकै दिन फिलिपिन्समा भएको सैनिक जहाज दुर्घटनामा ४५ जनाको ज्यान गएको थियो। जोलो नामक स्थानमा सैनिक जहाज दुर्घटनामा परेको थियो।
– सन् २०२२- सिकागोमा गोलीबारीमा मारिए ४७
सन् २०२२ मा अमेरिकाको सिकागो शहरस्थित हाइल्यान्ड पार्कमा भएको गोलीबारीमा परी ४७ जनाको ज्यान गएको थियो। ४ जुलाई परेडमा सहभागीहरूलाई लक्षित गरी अन्धाधुन्द गोली प्रहार भएको थियो। गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो।
– सन् २०२५- टेक्सास बाढीमा गयो ११६ को ज्यान
सन् २०२५ मा आजकै दिन अमेरिकाको टेक्सासमा आएको आकस्मिक बाढीमा परी ११६ जनाको ज्यान गएको थियो। खासगरी, केर काउन्टी बाढीबाट नराम्ररी प्रभावित भएको थियो। स्थानीय ग्वालालुपे नदीको बाढी बस्तीमा पसेको थियो।