काठमाडौं- आज २५ जुन। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये थोरै प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९५०- उत्तरले दक्षिणमा आक्रमण गरेपछि कोरियाली युद्ध शुरु
उत्तर कोरियाले अचानक दक्षिणमाथि आक्रमण गरेपछि आजकै दिन कोरियाली युद्ध शुरु भएको थियो। उक्त युद्ध अन्तर्राष्ट्रीय तनावका रूपमा विकसित भएको थियो। र, अमेरिका र तत्कालीन सोभियत संघबीचको छद्म युद्ध (प्रोक्सी वार) मा परिणत भएको थियो। त्यसले नयाँ विश्वयुद्धको आशंका पनि पैदा गरेको थियो। सन् १९५३ मा युद्धविरामपछि कोरियाली युद्ध अन्त्य भएको थियो।
– सन् १९६७- विश्वको पहिलो लाइभ ग्लोबल टीभी कार्यक्रम
सन् १९६७ मा आजकै दिन बीबीसीले विश्वको पहिलो लाइभ ग्लोबल स्याटेलाइट टीभी कार्यक्रम प्रसारण गरेको थियो। ‘आवर वर्ल्ड’ नामक उक्त कार्यक्रममा १९ मुलुकका कलाकार सहभागी भएका थिए। उक्त कार्यक्रममा विश्व चर्चित सांगीतिक ब्यान्ड बिटल्सले ‘अल यू निड इज लभ’को प्रिमियर गरेको थियो। करिब ४० करोड दर्शकले उक्त लाइभ कार्यक्रम हेरेका थिए।
– सन् १९९३- क्यानाडा र टर्कीमा पहिलो महिला सरकार प्रमुख
क्यानाडा र टर्कीले आजकै दिन पहिलोपटक महिला सरकार प्रमुख निर्वाचित गरेका थिए। क्यानाडामा किम क्याम्पवेल पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी थिइन्। यस्तै, टर्कीमा तान्सु सिलर पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। अन्य धेरै मुलुकमा अझै पनि महिला सरकार र राष्ट्र प्रमुख अपवादका रूपमा मात्र निर्वाचित हुने गरेका छन्।
– सन् २००९- माइकल ज्याक्सनको निधन
विश्व चर्चित गायक तथा नर्तक माइकल ज्याक्सनको आजकै दिन निधन भएको थियो। उनलाई ‘किङ अफ पप’ उपनाम दिइएको छ। उनी ५० वर्ष मात्र बाँचेका थिए। सेडेटिभ्स र प्रोपोफोल नाम दुई एनेस्थेटिकको प्रयोगका कारण उनको मृत्यु भएको थियो।
– सन् २०१७- इन्धन ट्यांकर विष्फोटमा पाकिस्तानमा २०० मारिए
सन् २०१७ मा आजकै दिन पाकिस्तानको अहमेदपुर पूर्वमा भएको इन्धनको ट्यांकर विष्फोटमा परी २०० जनाको मृत्यु भएको थियो। इन्धन बोकेको ट्यांकरमा आगलागी हुँदा विष्फोट भएको थियो।
– सन् २०२१- ८५ देशमा फैलियो कोरोनाको डेल्टा भेरियन्ट
सन् २०२१ मा कोरोना भाइरसको डेल्टा भेरियन्ट तीव्र गतिमा ८५ वटा मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले घोषणा गरेको थियो। कोरोनाको उक्त भेरियन्ट एकदमै तीव्र गतिमा संसारभर फैलिएको थियो।
– सन् २०२१- चीन र इजरायलमा मानव पुर्खाका अवशेष
सन् २०२१ मा आजकै दिन चीन र इजरायलमा मानव पुर्खाका पुराना अवशेष फेला परेको वैज्ञानिकहरूले बताएका थिए। चीनको पूर्वोत्तर क्षेत्रमा भेटिएको अवशेषलाई ‘ड्र्यागन म्यान’ उपनाम दिइएको थियो। मानवका पुर्खाको विशाख टाउको फेला परेको थियो। यस्तै, इजरायलको रामलामा १ लाख ४० हजारदेखि १ लाख २० हजार वर्षसम्म धर्तिमा अस्तित्वमा रहेको आकलन गरिएको मानव पुर्खाको अवशेष फेला परेको थियो। ‘नेसर रामला होमो’ नाम दिइएको उक्त मानव पुर्खा नियान्डरथल मानवको पूर्वज हुन सक्ने अनुमान छ।
– सन् २०२४- स्तनधारी जनावरको इतिहासकै ठूलो बसाईं सराइ
सन् २०२४ मा दक्षिण सुडानमा गरिएको विशाल हवाई सर्वेक्षणबाट आधुनिक संसारकै ठूलो स्तनधारी जनावरहरूको बसाईं सराइ भइरहेको पत्ता लागेको थियो। दक्षिण सुडानका बोमा र बेडिंगिलो राष्ट्रीय निकुञ्जहरूमा गरिएको हवाई सर्वेक्षणबाट उक्त तथ्य सार्वजनिक भएको थियो। त्यसरी बसाईं सराइ गर्ने स्तनधारीहरूमा करिब ६० लाख मृग पनि सामेल थिए।
– सन् २०२५- आईएसएसका लागि उड्यो एक्सिओम मिसन-४
सन् २०२५ मा आजकै दिन एक्सिओम मिसन-४ इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस)मा अन्तरिक्ष यात्री पुर्याउन उडेको थियो। उक्त मिसनमा ४ जना अन्तरिक्ष यात्री पठाइएको थियो, जसमा पोल्यान्ड र भारतका अन्तरिक्ष यात्री पनि सहभागी थिए।