काठमाडौं- आज १५ जुन। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १६६७- मानिसमा पहिलोपटक चढाइयो रगत
सन् १६६७ अर्थात् ३५९ वर्षअघि आजकै दिन पहिलोपटक मानिसमा रगत चढाइएको थियो। फ्रान्सका राजा लुई चौधौंका चिकित्सक हुवाँ-बाप्टिस्ट डेनिसले एक १५ वर्षे किशोरमा भेडाको रगत चढाउन सफलता पाएका थिए।
– सन् १९५४- युनियन अफ युरोपियन फुटबल एसोसिएसनको स्थापना
सन् १९५४ मा आजकै दिन युनियन अफ युरोपियन फुटबल एसोसिएसनको स्थापना भएको थियो। यो युरोपेली मुलुकहरूको फुटबलको छाता संगठन हो। अहिले यसका युरोप र एसियामा समेत गरी ५४ सदस्य राष्ट्र छन्।
– सन् १९७७- स्पेनमा पहिलो स्वतन्त्र आम निर्वाचन
स्पेनमा आजकै दिन ४९ वर्षअघि अर्थात् सन् १९३६ यता पहिलो स्वतन्त्र आम निर्वाचन भएको थियो। फ्रान्सिस्को फ्रान्कोको नेतृत्वमा चार दशक चलेको दक्षिणपन्थी तानाशाही व्यवस्था ढलेर स्पेनमा लोकतन्त्र बहाली भएको थियो। उक्त आम निर्वाचनमार्फत एडोल्फो सुआरेज त्यहाँका लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री बनेका थिए।
– सन् १९९१- फिलिपिन्समा ज्वालामुखी विष्फोटमा ८०० को मृत्यु
सन् १९९१ मा आजकै दिन फिलिपिन्सको माउन्ट पिनाटुबोमा भएको ज्वालामुखी विष्फोटमा परी ८०० जनाले ज्यान गुमाएका थिए। त्यो २०औं शताब्दीकै सबैभन्दा हिंस्रक ज्वालामुखी थियो। उक्त विष्फोटका कारण विश्वव्यापी तापमानमा ०.५ डिग्री सेल्सियस वृद्धि भएको थियो।
– सन् २०१५- म्याग्नाकार्टाको ८०० वर्ष
सन् २०१५ मा आजकै दिन आधुनिक प्रजातन्त्रको जग बसेको मानिएको बेलायतको म्याग्नाकार्टाको ८ सयौं वर्षगाँठ मनाइएको थियो। ८१० वर्षअघि १५ जुन १२१५ मा बेलायतका राजा जोनले म्याग्नाकार्टामा हस्ताक्षर गर्दै जनतालाई सार्वभौम अधिकार प्रत्यायोजन गरेका थिए।
– सन् २०२३- भूमिगत पानी दोहनका कारण भासियो पृथ्वीको उत्तरी ध्रुव
सन् २०२३ मा प्रकाशित एक रिपोर्टअनुसार भूमिगत जलाशयहरूबाट निरन्तर गरिएको दोहनका कारण पृथ्वीको उत्तरी ध्रुव भासिँदै गएको छ। हालसम्म उत्तरी ध्रुव ४.३६ सेन्टिमिटर भासिइसकेको छ। सन् १९९३ देखि २०१० सम्ममा २ ट्रिलियन टनभन्दा बढी पानी भूमिगत जलासयबाट निकालिएको पाइएको रिपोर्टमा उल्लेख थियो।
– सन् २०२३- डेंगु ज्वरोले उडायो पेरूका स्वास्थ्य मन्त्रीको पद
सन् २०२३ मा देशमा फैलिएको डेंगुको प्रकोपप्रति जिम्मेवारी लिँदै पेरूकी स्वास्थ्य मन्त्री रोजा गुटिरेजले राजीनामा दिएकी थिइन्। डेंगुका कारण पेरूमा २४८ जनाको ज्यान गएको थियो। अन्य १ लाख ४६ हजारलाई रोग पुष्टि भएको थियो।
– सन् २०२५- नेतन्याहुविरुद्ध युद्ध अपराधमा मुद्दा चलाउन माग गर्नै हेगमा प्रदर्शन
प्यालेस्टिनमा भइरहेको अत्याचारपूर्ण आक्रमणविरुद्ध इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि युद्ध अपराधमा कारवाही गर्न माग गर्दै दी नेदरल्यान्ड्सको हेगमा आजकै दिन करिब डेढ लाख मानिसले प्रदर्शन गरेका थिए। तथापि, प्यालेस्टिन र गाजा क्षेत्रमा इजरायली आक्रमण अद्यापि जारी छ। लाखौंको हत्या भइसकेको छ।