काठमाडौं- आज १२ जुन। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, विश्वव्यापी चर्चा पाएका केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९६४- नेल्सन मन्डेलालाई आजीवन काराबास
सन् १९६४ मा आजकै दिन तत्कालीन रंगभेदी श्वेत शासनले दक्षिण अफ्रिकाका क्रान्तिकारी नेता स्वर्गीय नेल्सन मन्डेलालाई आजीवन काराबासको सजाय सुनाएको थियो। संसारकै लोकतन्त्रका पर्याय मन्डेलाले २७ वर्ष जेलमा बिताएका थिए। उनको निरन्तर संघर्षकै परिणामका रूपमा श्वेत शासन ढलेर दक्षिण अफ्रिकामा प्रजातन्त्र स्थापना भयो। र, मन्डेला त्यहाँका राष्ट्रपति बने। सन् १९९३ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो।
– सन् १९९१- बोरिस एल्तसिन रुसका प्रथम राष्ट्रपति
सोभियत संघको पतनपछि गठित रुसको पहिलो राष्ट्रपतिमा आजकै दिन बोरिस एल्तसिन नियुक्त भएका थिए। नियुक्तिलगत्तै उनले आमूल आर्थिक सुधारका कार्यक्रम लागू गरेका थिए। उनको लक्ष्य समाजवादको अन्त्य र पुँजीवादको स्थापना थियो।
– सन् १९९४- विश्वकै ठूलो ट्विनजेट विमानको उडान
विश्वकै ठूलो ट्विनजेट विमान मानिएको बोइङ-७७७ को पहिलो व्यावसायिक उडान आजकै दिन भएको थियो। उक्त विमानमा ४५१ यात्रीले एकसाथ यात्रा गर्न सक्छन्। यो बोइङको व्यावसायिक रूपमा सबैभन्दा सफल विमानमध्ये एक हो।
– सन् १९९६- शेख हसिना पहिलोपटक सत्तामा
गत वर्ष जनविद्रोहमार्फत सत्ताच्युत भएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद सन् १९९६ मा आजकै दिन पहिलोपटक सत्तामा पुगेकी थिइन्। संसदका ३०० मध्ये १४६ सिट जितेर उनको पार्टी अवामी लिगले हसिनालाई सत्तामा पुर्याएको थियो। उनको पहिलो सरकार गठनका लागि जातीय पार्टीको समर्थन थियो।
– सन् २०१६- ओर्ल्यान्डो नरसंहारमा ४९ को हत्या
अमेरिकाको फ्लोरिडास्थित ओर्ल्यान्डोको पल्स नाइटक्लबमा आजकै दिन भएको नरसंहारमा ४९ जनाको हत्या गरिएको थियो। उक्त नरसंहार एलजीबीटीक्यू मानिसहरूलाई लक्षित गरेर गराइएको थियो। २९ वर्षका उमर मतिनले नाइट क्लबमा अन्धाधुन्द गोली बर्साएका थिए।
– सन् २०१९- २५ सय वर्षअघि नै गाँजा तान्थे मानिस
सन् २०१९ मा आजकै दिन एक अनौठो रिपोर्ट सार्वजनिक भएको थियो। ‘साइन्स एडभान्सेस’मा प्रकाशित उक्त रिपोर्टअनुसार २ हजार ५०० वर्षअघि नै मानिसले गाँजा तान्ने गरेको खुलासा भएको थियो। चीनको पामिर माउन्टेनमा प्राप्त अवशेषको विश्लेषणपछि उक्त तथ्य प्राप्त भएको थियो। र, त्यो मानिसले धुम्रपान गर्न थालेको शुरुवाती चरण पनि थियो।
– सन् २०२३- डुंगा पल्टिँदा १०६ जना जन्ती मारिए
सन् २०२३ मा आजकै दिन अफ्रिकी मुलुक नाइजेरियामा जन्तीहरू सवार डुंगा पल्टिँदा १०६ जनाको ज्यान गएको थियो। उत्तर-मध्य क्षेत्रस्थित क्वारा राज्यको नाइजर नदीमा उक्त दुर्घटना भएको थियो। डुंगामा सवार १४४ जनालाई जीवितै उद्धार गरिएको थियो।
– सन् २०२५- एयर इन्डिया दुर्घटनामा गयो २४२ को ज्यान
सन् २०२५ मा आजकै दिन एयर इन्डियाको विमान भारतकै अहमदावादमा दुर्घटना हुँदा त्यसमा सवार र जमिनका सहित गरी २४२ जनाको ज्यान गएको थियो। बोइङ ७८७-८ ड्रिमलाइनर जेट विमान अहमदावादबाट लन्डनका लागि उड्नासाथ दुर्घटनामा परेको थियो।