काठमाडौं- आज ९ जुन। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९२८- पहिलो ट्रान्स-प्यासिफिक उडान
सन् १९२८ मा आजकै दिन चार्ल्स किङ्सफोर्ड स्मिथले पहिलोपटक ट्रान्स-प्यासिफिक उडान पूरा गरेका थिए। अस्ट्रेलियाका स्मिथ र उनको चालक दलका ४ सदस्यले ३१ मेमा अमेरिकाको क्यालिफोर्नियास्थित अकल्यान्डबाट उडान शुरु गरेका थिए। र, आजकै दिन अनेकौं स्टेप पार गर्दै ९ दिनमा क्विन्सल्यान्डको ब्रिसबेन पुगेका थिए।
– सन् १९५७- ब्रोड पिकको पहिलो सफल आरोहण
सन् १९५७ मा आजकै दिन पाकिस्तान र चीनको सीमास्थित ब्रोड पिकको पहिलो सफल आरोहण भएको थियो। ४ अस्ट्रियन पर्वतारोहीले ८ हजार ५१ मिटर उचाइको उक्त हिमाल आरोहण गरेर रेकर्ड राखेका थिए। फ्रिट्ज विन्टरस्टेलर, माक्र्स स्मक, कर्ट डिमबर्गर र हर्मन बुहल उक्त हिमालको चुचुरोमा पुगेका थिए।
– सन् १९६७- गोलान हाइट्समा इजरायलको कब्जा
सन् १९६७ मा आजकै दिन गोलान हाइट्समा इजरायलले कब्जा जमाएको थियो। त्यसअघि उक्त क्षेत्र सिरियाको कब्जामा थियो।
– सन् २०१२- म्यानमार दंगामा ३०० घर जले
सन् २०१२ मा म्यानमारमा फैलिएको दंगामा ३०० घर जलाइएका थिए। त्यस क्रममा २० जनाको हत्या भएको थियो।
– सन् २०१९- चीनविरुद्ध हङकङमा विशाल प्रदर्शन
सन् २०१९ मा आजकै दिन हङकङका बासिन्दाले चीनविरुद्ध विशाल प्रदर्शन गरेका थिए। १० लाखभन्दा बढी मानिस सडकमा निस्केर प्रदर्शनमा सहभागी भएका थिए। चीनका लागि नयाँ सुपुर्दगी कानून ल्याइन लागेको विरोधमा उनीहरू सडकमा निस्केका थिए। त्यो हङकङमा भएका ठूला प्रदर्शनमध्ये एक हो।
– सन् २०२३- जहाज दुर्घटनामा परेका बालबालिका ४० दिनपछि जीवितै उद्धार
दक्षिण अमेरिकी मुलुक कोलम्बियाको जंगलमा दुर्घटनामा परेको जहाजमा सवार ४ बालबालिकालाई सन् २०२३ मा आजकै दिन ४० दिनपछि जीवितै उद्धार गरिएको थियो। सोही वर्ष १ मेमा ‘सेस्ना २०६’ जहाज जंगलमा खसेको थियो। घटनामा तीनजना बयस्कको मृत्यु भएको थियो। जीवितै उद्धार गरिएका बालबालिकाममध्ये १३, ९, ४ र १ वर्षका थिए।
– सन् २०२५- ग्रेटा थनबर्ग इजरायलमा पक्राउ
स्विडिस एक्टिभिस्ट ग्रेटा थनबर्ग आजकै दिन इजरायलमा पक्राउ परेकी थिइन्। उनको समूह गाजा क्षेत्रमा राहत सामग्री पुर्याउन इजरायलमा पुगेको थियो। उनीहरूले लिएर गएको राहत सामग्री जफत गर्दै इजरायली सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। विश्वव्यापी आलोचनापछि इजरायलले उनीहरूलाई रिहा गरेको थियो।