काठमाडौं- आज ५ जुन। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९६७- मध्यपूर्वमा ६ दिने लडाईं
सन् १९६७ मा आजकै मध्यपूर्वमा ६ दिने युद्ध शुरु भएको थियो। इजरायली सेनाले अचानक इजिप्टमाथि आक्रमण गरेपछि युद्ध शुरु भएको थियो। त्यसमा इजिप्टका सहयोगी अन्य अरब मुलुकले पनि इजरायलको प्रतिवाद गरेका थिए। इजिप्टले शुरुमा तिरान स्ट्रेटमा इजरायली आवागमन बन्द गरेको थियो। त्यसपछि सीमामा दुवै मुलुकका सैनिक आमनेसामने भएका थिए।
– सन् १९६८- केनेडीका भाइको हत्या
पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका भाइ रोबर्टको आजकै दिन गोली प्रहारबाट हत्या गरिएको थियो। उनीमाथि गोली प्रहार गर्ने २४ वर्षे प्यालेस्टिनी युवक थिए। रोबर्टले इजरायललाई समर्थन गरेकामा उनी आक्रोशित भएका थिए। सोही कारण रोबर्टको हत्या गरेको बयान दिएका थिए। पूर्व राष्ट्रपति केनेडीको पनि अज्ञात बन्दुकधारीले हत्या गरेका थिए।
– सन् १९८१- एड्सको पहिलो बिरामी
सन् १९८१ मा आजकै दिन एचआईभी-एड्सको पहिलो बिरामी फेला परेका थिए। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले पहिलोपटक एड्सका ५ जना बिरामी फेला परेको बताएको थियो। शुरुमा यसलाई निमोनियाको जटिल बिमारीको रूपमा चिनाइएको थियो। पछि त्यसलाई एचआईभी भाइरसबाट लाग्ने एड्स रोग नाम दिइएको थियो। सन् २००० सम्म आइपुग्दा ४ करोड मानिसमा एड्स देखिएको थियो।
– सन् २०१७- कतारसँग ७ मुलुकले एकसाथ तोडे सम्बन्ध
सन् २०१७ मा आजकै दिन बहराइन, साउदी अरेबिया, यूएई र इजिप्टले कतारसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए। यमन, मालदिभ्स र लिबियाले पनि उनीहरूकै पथ पछ्याउँदै कतारसँगको सम्बन्ध अन्त्य गरेका थिए। आतंकवादी संगठनहरूलाई कतारले सहयोग गर्ने गरेको आरोप उनीहरूको थियो।
– सन् २०१९- मानिसले बर्सेनि खान्छन् १ लाख टुक्रा प्लास्टिक
सन् २०१९ मा ‘इन्भारमेन्टल साइन्स एन्ड टेक्नोलोजी’ नामक पत्रिकामा प्रकाशित एक रिपोर्टअनुसार मानिसले बर्सेनि औसत ५० हजार टुक्रा माइक्रोप्लास्टिक खाने गरेको खुलासा भएको थियो। त्यति नै परिमाणमा माइक्रोप्लास्टिक श्वासप्रश्वासमार्फत मानिसको शरीरमा प्रवेश गर्ने रिपोर्टमा उल्लेख थियो। अर्थात्, खाना र श्वासमार्फत मानिसको शरीरमा १ लाख टुक्रा माइक्रोप्लास्टिक प्रवेश गर्ने गरेको खुलासा भएको थियो।
– सन् २०२४- सुडानी सेनाले हत्या गर्यो १०० सर्वसाधारणको
सन् २०२४ मा आजकै दिन सुडानी सेनाले आक्रमण गरी १०० सर्वसाधारणको ज्यान लिएको थियो। सुडानको अर्ध सैनिक बल आरएसएफले गेजिरा प्रान्तको वाड अल-नौरामा आक्रमण गर्दा उक्त हताहती भएको थियो। र, त्यहाँका अन्य बासिन्दालाई जबर्जस्ती विस्थापित बनाएको थियो।