काठमाडौं- आज ४ जुन। विश्व इतिहासका असंख्य घटनाले आजको दिनको सम्झना दिलाउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १७८३- पहिलो हट एयर बेलुन प्रदर्शन
फ्रान्सका मोन्टगल्फियर दाजुभाइले सन् १७८३ मा आजकै दिन हट एयर बेलुन प्रदर्शन गरेका थिए। करिब १० मिनट उनीहरूले हट एयर बेलुनको उडान गरेका थिए।
– सन् १९१७- पहिलो पुलित्जर पुरस्कार प्रदान
सन् १९१७ मा पहिलोपटक पुलित्जर पुरस्कार प्रदान गरिएको थियो। त्यसयता बर्सेनि विधिन्न विधामा उक्त पुरस्कार प्रदान गरिँदै आएको छ। पीत पत्रकारिताका पिता मानिने जोसेफ पुलित्जरले कोलम्बिया विश्वविद्यालयलाई उपलब्ध गराएको धनराशिबाट उक्त पुरस्कार दिन शुरु गरिएको हो।
– सन् १९८९- तियानमेनमा हजारौंको हत्या
चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आजकै दिन चिनियाँ सेनाले गोली बर्साउँदै ट्यांकहरूले पेल्दा हजारौं प्रदर्शनकारीको ज्यान गएको थियो। प्रजातन्त्र माग गर्दै प्रदर्शन गरिरहेका नागरिकमाथि कम्युनिस्ट सरकारले निर्मम दमन गरेको थियो।
– सन् २००१- नेपालका अन्तिम राजा ज्ञानेन्द्रको गद्दी आरोहण
दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह आजकै दिन राज सिंहासनमा बसेका थिए। तथापि, उच्च महत्त्वाकांक्षा र नागरिक अधिकार खोसेर तानाशाही शासन लागू गर्न खोजेपछि जनआन्दोलनको बलबाट उनी गद्दीच्युत भए। र, नेपालका अन्तिम राजा बन्न पुगे।
– सन् २०१९- अमेजन जंगल विनाश
सन् २०१९ मा ब्राजिलको अन्तरिक्ष अनुसन्धान एजेन्सीले विश्वकै फोक्सो मानिने अमेजनको जंगल व्यापक विनाश भएको तथ्य खुलासा गरेको थियो। संस्थाका अनुसार ३० दिनभित्रमा स्थानीय बासिन्दाले ७४० वर्ग किलोमिटर क्षेत्रफलको जंगल सखाप बनाएका थिए।
– सन् २०२०- फिलिपिन्स सरकारद्वारा ८ हजारको हत्या
सन् २०२० मा आजकै दिन संयुक्त राष्ट्र संघले फिलिपिन्समा सरकार पक्षबाट भएको नरसंहारको आलोचना गरेको थियो। फिलिपिन्स सरकारले लागूऔषध तस्करी र प्रयोगविरुद्ध राष्ट्रीय युद्ध घोषणा गरेको थियो। र, त्यस क्रममा ८ हजारजना मारिएका थिए। फिलिपिन्सको संसदले प्रतिआतंकवाद कानून पारित गर्दै सरकारले ती हत्याका लागि बाटो खोलेको थियो।
– सन् २०२०- रुसमा संकटकाल
सन् २०२० मा आजकै दिन रुसले राष्ट्रीय संकटकाल घोषणा गरेको थियो। साइबेरियास्थित रुसी शहर नोरिल्स्क नजिक आर्कटिक सर्कलमा २० हजार लिटर डिजेल पोखिएपछि उक्त संकटकाल घोषणा गरिएको थियो।
– सन् २०२२- संसारभर मंकिपक्सको प्रकोप
सन् २०२२ मा आजकै दिन विश्व स्वास्थ्य संगठनले २७ वटा मुलुकमा मंकिपक्स फैलिएको बताएको थियो। र, संसारभर उक्त महामारीप्रति सतर्कता अपनाउन आग्रह गरेको थियो।