कैलाली । नवजीवन सहकारीको चुनावी माहोल दिनप्रतिदिन रोचक र पेचिलो बन्दै गएको छ । चुनावी मैदानमा कांग्रेस समर्थित केशव मिश्र, एमाले समर्थित गोपाल पाठक र स्वतन्त्र उम्मेदवार घन बहादुर शाहबीच त्रीपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
तर चुनाव नजिकिँदै जाँदा दुवै दलका उम्मेदवारलाई चुनौती विपक्षीबाट भन्दा आफ्नै पार्टीभित्रबाट बढी देखिन थालेको चर्चा चुलिएको छ । कांग्रेसबाट उम्मेदवार बनेका केशवराज मिश्रलाई पार्टीभित्रकै असन्तुष्टि र मौन असहयोगले अप्ठ्यारो पारिरहेको चर्चा छ । उता एमाले उम्मेदवार गोपालराज पाठक पनि आफ्नै दलभित्र पूर्ण समर्थन जुटाउन संघर्षरत देखिएका छन् ।
राजनीतिक वृत्तमा चर्चा अनुसार, जब आफ्नै साथीहरू खुलेर साथ दिन सक्दैनन्, चुनावी समीकरण स्वतः बदलिन थाल्छ । यही अवस्थाबीच स्वतन्त्र उम्मेदवार घन बहादुर शाह भने तुलनात्मक रूपमा सहज अवस्थामा पुगेको विश्लेषण हुन थालेको छ । ठूला दलभित्रको अन्तरविरोध र आन्तरिक खिचातानीले स्वतन्त्र उम्मेदवारलाई फाइदा पुग्ने संकेत देखिएको छ ।
गत फागुनमा सम्पन्न आम निर्वाचनको प्रभाव समेत अहिलेको सहकारी चुनावमा देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ । कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसका उम्मेदवार नरनारायण शाह ‘मनु’ लाई खुलेर साथ दिन नसकेको आरोप खेपिरहेका मिश्र अहिले आफ्नै राजनीतिक पृष्ठभूमिको असर सामना गरिरहेका छन् । गगन थापा निकट मानिने मिश्रलाई देउवा समूह समर्थित उम्मेदवारको रूपमा हेरिएकाले शाह निकट मतदाता त्यति उत्साहित नदेखिएको चर्चा छ ।
उता एमालेतर्फ क्षेत्र नम्बर ५ बाट चुनाव लडेका जिल्ला अध्यक्ष यज्ञराज ढुंगानालाई पर्याप्त सहयोग नगरेको आरोप गोपाल पाठकमाथि लाग्दै आएको छ । यद्यपि मिश्र र पाठक दुवैले आफूमाथिका आरोपहरू निराधार भएको बताएका छन् । आफुहरु जित्ने कुरामा ढुक्क रहेको दुबैजनाले बताउदै आएका छन ।
नवजीवन सहकारीको चुनावले फेरि एकपटक राजनीतिमा विपक्षीभन्दा आफ्नै असन्तुष्ट समूह बढी चुनौतीपूर्ण हुने सन्देश दिएको छ । अहिलेको चुनावी माहोल हेर्दा अन्तिम परिणाम कसको पक्षमा जाने हो भन्ने चासो बढ्दो छ ।