केही दिन भो
बडका भलमन्सा गायब छन्
न बोलेका छन्
न देखिएका छन्
चुनावपछि नेता हराएझैं !
सबैले ठग्गालाई भने-
ए ठग्गा, तिम्रा काका कहाँ छन् ?
जोड लगाएर खोज त
श्री ३ को पालादेखि धेरैजसोको घर खेती
ऐलानी जग्गामै छ
हाम्रो गाउँमा ऐलानी जग्गामा बस्नेको
सातो उडेको छ
निन्द्रा हराएको छ
यो समस्या
भलमन्साले काठमाडौं लैजान
भन्ने सल्लाह भएको छ
ठग्गा खोज्दै गयो
काका त घरभित्र
डेहेरीमा धुलोसँगै
थन्किएर बसेका रहेछन्
ए काका तिमी किन लुकेको ?
किन न बोलेको ?
बडका भलमन्साले सुस्केरा हाल्दै भने-
ए भतिज, अरूको कुरा के गर्छस्
राणाकालदेखि नै
मेरो आफ्नै घर
आफ्नै खेत
ऐलानी जग्गामा पो रहेछ !
जब काठमाडौंमा
डोजरले दर्शन दिन थाल्यो
त्यसपछि बल्ल
दिमाग हल्लिन थाल्यो !
अहिले थाहा भो
तिम्रो गाउँको बडका भलमन्सा
त आफैं सुकुम्वासी हुने रहेछ
जसले अरूलाई नियम लगाउँथ्यो
आज आफैं बचाऊ भन्दैछ !
जीवनभर अरूलाई न्याय दिएँ
अब मलाई कसले न्याय दिने होला ?
ठग्गा हाँस्दै फर्कियो
गाउँमा खबर फैलायो
काका त ठीकै छन्
तर अब उनी
अरूलाई हटाउने हैन
आफैं हट्ने लाइनमा बस्न थालेका छन् !