आशाका सिलिन्डर
बोकेर बड्का भलमन्साले
काठमाडौं जाने विचार गरे
Advertisement
ठग्गालाई बोलाएर भने
भतिज गाउँभरिका
खाली सिलिन्डर जम्मा गर
जाऔं काठमाडौं
आशा पूरा हुन्छ रे !
भतिज हल्का हाँस्यो
काका तेलले गर्दा भाडा महँगो छ
मेरो लडिया खाली छ
त्यसैमा लिएर जाऔं
बड्का भलमन्सा अलमल्ल परे
ए भतिज लडियामा कति दिन लाग्ने हो ?
भतिज फेरि हाँस्यो
काका दिन गन्ने कि आशा ?
बाटो लामो छैन
तर व्यवस्था ढिलो छ
सिलिन्डर खाली
भाषण भने भरिभराउ
काठमाडौं पुग्दा थाहा होला
लाइन अझै लामो
आशा अझै अधुरो !
लडिया अघि बढ्दै जान्छ
धुलो उडाउँदै सपना बोक्दै
तर आशाभन्दा भारी त
यी वाचा र झूटा आश्वासन पो रहेछन्
काठमाडौं टाढा छैन काका
तर आशाको लाइन
देशभन्दा लामो छ !