गज्जब छन् ट्रम्प बड्डा,
कहिले ट्विटले युद्ध घोषणा,
कहिले ट्विटले सन्धि
विश्व राजनीति उनको लागि
मात्रै एउटा रंगमञ्च भएको छ !
एकातिर अमेरिकी शक्ति,
अर्कोतिर चिनियाँ छाया,
टाढैबाट हेर्दै रुस
ए हामी त गोतियार हुँ भन्ने अर्को छिमेकी !
शक्तिको खेल चलिरहन्छ,
हामी भने नक्साको कुनामा
आफ्नै स्वार्थमा रुमल्लिएर अड्किएका
कहिले प्रतिबन्ध, कहिले सहयोग,
कहिले मित्रता, कहिले धम्की
ठूला देशको नीतिमा
साना राष्ट्रहरूको भाग्य लेखिन्छ
हामीजस्ता देश,
कहिले सहायता पाउँदा खुशी,
कहिले शर्त सुन्दा मौन
आफ्नै निर्णय पनि
अरूको संकेतमा निर्भर !
बड्डा उता भाषण दिन्छन्
दुनियाँ ताल मिलाउँछन्
राजनीति अब सिद्धान्त होइन,
एक विश्वव्यापी सो बनिसक्यो
जहाँ नेताहरू कलाकार
र जनताहरू दर्शक मात्र !
किन हो हामी बुझ्दैनौं
आफ्नो शक्ति आफैं तिखार्नुपर्ने
अरूको छायामा उभिएर
आफ्नो उचाइ नाप्न नसकिने !
हामी अझै ताली बजाउँदैछौं,
उनीहरू अझै अभिनय गर्दैछन्
र इतिहास चुपचाप लेखिँदैछ
हाम्रो मौनताको मसीले !