सांसद भएका बडका भलमन्सालाई
संसारै जितेजस्तो भयो
भुईंबाट उठेको मान्छे
अचानक आकाश टेक्यो जस्तो भयो !
भतिज ठग्गालाई
फर्मान जारी गर्न लगाए
मेरो जिल्लाको ठेक्कापट्टा
मलाई नसोधी नदिनू
कुर्सीको नशा चढ्दै जाँदा
कानून पनि आफैं भएको ठाने
जनताको मतलाई
आफ्नो जागिरको हाजिरी ठाने
‘चल् भतिज’ भलमन्सा कराए
अब झापा सिडियोको अफिस हेर्न जाऊँ
त्यसपछि डडेल्धुरा पुगौं
देश चलाउनु त मेरै जिम्मा हो
ओलाङ्चुङगोला भन्सार पुगेर
सिमाना पनि नापेजस्तो गरे
नक्सामा औंला घुमाउँदै
देशै काँपेजस्तो गरे
आफ्नै छायाँसँग आफैं डराउने बुढा
अन्त्यमा सिंहदरबार छिरे
त्यतिबेला ठग्गा मुस्कायो,
र भन्यो
काका तिमीलाई किन सांसद बनाएको
थाहा छ ?
तिम्रो काम संसदमा बोल्नु
जनताको आवाज बन्नु हो
यसरी डुलेर हिँड्दा
कुन दिन थेचारिन्छौ !
कुर्सी चढ्नु गाह्रो छ काका
झर्नु सजिलो हुन्छ
जनताको भरोसा गुमेपछि
नाम पनि हावामा उड्छ !
बडका भलमन्साको मुख केही फुस्रो भयो
घमण्ड तल झर्यो
ठग्गाको सानो चेतावनीले
भलमन्साको दर्पन चर्कियो
अन्त्यमा ठग्गाले फेरि भन्यो
चेत काका चेत
संसदको बाटो बिर्सियौ भने
कुर्सीले नै तिम्रो कथा लेख्छ !