ट्रम्प बड्डा ज्याद्रा छन्
के गर्छन्, के बोल्छन्
थाहा हुँदैन
Advertisement
आज ट्विट, भोलि धम्की,
पर्सि युद्धको नाटक
गर्दा गर्दै छिमेकमा आइपुगे
इरानलाई आँखा तेर्स्याउन !
तर, इरान पनि कागजको बाघ होइन
बन्दुकको आवाज सुनेर
तोपले नै जवाफ फर्कायो !
दुनियाँको चुल्हो निभाउने
तेलका भाँडाहरू सुकाउने
गाडी थन्क्याउने, बजार सुकाउने
गज्जब छ खेल !
ठूला नेताको इगो
बज्ने सानो मान्छेको पेटमा !
यस्तै हो भने कारखाना बन्द हुनेछन्
मजदुरको हात खाली
खेति चौपट
धान होइन, डर उम्रनेछ
खेतबारीमा !
ए बड्डा
आफ्नो घर फर्क
हामीलाई तिम्रो शक्ति होइन,
शान्ति चाहिएको हो
पुग्यो तिम्रा धम्की,
पुग्यो तिम्रा गोली बारुद
विश्वलाई खेलौना सम्झने बानी
अब पुरानो भइसक्यो !
त्यहाँ पसिना बगाइरहेका
हाम्रा नेपाली दाजुभाइलाई
कमाउन देऊ, बाँच्न देऊ !
तिम्रो युद्धले होइन,
उनीहरूको श्रमले
देश चलिरहेको छ