निर्वाचन प्रहरीको जागिर सकिना साथ
साईंलीको निद्रा हराएको छ
Advertisement
छ महिनाअघि
श्रीमानको मृत्यु
आमाको आँखामा भविष्य खोज्दै
दुईजना नाबालक
घर-व्यवहारको खर्च
कापी किताब
औषधि
भान्साको चुल्हो
यी सबैलाई
थोरै भए पनि
निर्वाचन प्रहरीको त्यो तलबले
जोडेर राखेको थियो
चुनाव आयो
देशभरि झण्डा फहराए
माइक कराए
जुलुस नाचे
नेताहरूले भाषण गरे
देश बदलिने
समृद्धि ल्याउने
जनताको सरकार बनाउने
त्यही चुनाव जोगाउन
साईंली
निर्वाचन प्रहरी बनेकी थिई
घाममा उभिई
धुलोमा हिँडी
रातभरि जागेर
मतपेटिका जोगाई
चुनाव सकियो
मत गनियो
नेताहरू जिते
तर,
त्यसै दिन
साईंलीको जागिर सकियो
देशमा
निर्वाचन सकियो
साईंलीको घरमा
चिन्ता बस्यो
देशभरि
लोकतन्त्रको उत्सव सकिएको छ
तर,
साईंलीको मनमा
चिन्ता थपिएको छ