भैरहवा- नेपाल-भारत सीमामा अवस्थित बेलहिया नाका मुलुक प्रवेश गर्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रीय नाकामध्ये एक हो। विशेषगरी, भारतबाट लुम्बिनी, बुटवल, भैरहवा, पोखरा र काठमाडौं जाने पर्यटकहरूको सबैभन्दा बढी आवागमन हुने पैदलमार्ग नाका यही हो।
दैनिक सयौं भारतीय तथा विदेशी पर्यटक यही नाका हुँदै नेपाल प्रवेश गर्छन्। तर, यति महत्त्वपूर्ण र संवेदनशील नाका आज अत्यन्तै अव्यवस्थित, अस्तव्यस्त र दुर्गन्धित अवस्थामा छ। बेलहियाबाट नेपाल प्रवेश गर्ने पर्यटकले पहिलो पाइला चाल्नेबित्तिकै जुन दृश्य देख्छन्, त्यसले नेपालको पर्यटनमैत्री छविमाथि गम्भीर प्रश्न उठाएको छ।
मैदानमा पुगेर गरिएको अवलोकनमा बेलहिया नाका अहिले अव्यवस्थाको केन्द्र बनेको स्पष्ट देखिन्छ। नाकाको वरिपरि भारतीय नम्बर प्लेटका साना-ठूला गाडीहरू जथाभावी पार्किङ गरिएका छन्। पैदल हिँड्नुपर्ने मार्ग नै गाडीले छेकेका छन्।
कतै सडकको बीचमै गाडी रोकिन्छन् भने कतै पसल अगाडि र नाकाको प्रवेशद्वारमै गाडी थन्क्याइएका छन्। यसका कारण पैदल यात्रु, पर्यटक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू जोखिम मोलेर हिँड्न बाध्य छन्।
भारतीय गाडीहरूको यो अव्यवस्थित पार्किङले केवल यातायात समस्या मात्रै सिर्जना गरेको छैन, सुरक्षाको दृष्टिकोणबाट पनि गम्भीर चुनौती खडा गरेको छ। सीमावर्ती क्षेत्र भएकाले यहाँ कडाइका साथ निगरानी हुनुपर्ने भए पनि जथाभावी पार्किङका कारण सुरक्षा जाँच, सीसी क्यामेराको निगरानी र सुरक्षाकर्मीको काममा अवरोध सिर्जना भएको देखिन्छ। आपतकालीन अवस्थामा एम्बुलेन्स वा सुरक्षासम्बन्धी सवारी साधनसमेत जाममा फस्ने अवस्था सिर्जना हुने स्थानीय बासिन्दा बताउँछन्।
बेलहिया गाउँ समाजका सचिव माधव शर्माले यस नाकालाई व्यवस्थित र सौन्दर्यकरणका उक्त समाज लागिपरेको बताए।
नाकाको अर्को ठूलो समस्या भनेको ठेला गाडा र अस्थायी पसलहरूको अराजकता हो। चिया, पानी, फलफूल, खाजा, सस्तो सामान, होटल र यातायातको प्रचार गर्दै ठेलावालाहरूले पैदलमार्ग पूर्ण रूपमा कब्जा गरेका छन्। पर्यटकलाई सहजै हिँड्ने ठाउँ छैन।
अव्यवस्थासँगै बेलहिया नाकाको अर्को पीडादायी पक्ष हो- फोहोर र दुर्गन्ध। नाकाको वरिपरि जताततै फालिएको प्लास्टिकजन्य फोहोर, खाना खाएर फालेका कागज, बोतल र अन्य फोहोरका थुप्रो देखिन्छन्। ठाउँ-ठाउँमा पिसाबको गन्धले वातावरण असह्य बनाएको छ। नियमित सरसफाइको कुनै व्यवस्था देखिँदैन। डस्टबिनको संख्या अत्यन्त न्यून छ, भएका डस्टबिन पनि भरिएर पोखिएका छन्। यसले यो क्षेत्रलाई स्वास्थ्यका दृष्टिले पनि जोखिमयुक्त बनाइरहेको छ।
सबैभन्दा दुःखद र लज्जास्पद अवस्था भनेको यति ठूलो र व्यस्त अन्तर्राष्ट्रीय नाकामा पर्यटकका लागि सार्वजनिक शौचालयको अभाव हो। लामो दूरीको यात्रा गरेर आएका महिला, बालबालिका, ज्येष्ठ नागरिक र विदेशी पर्यटकहरू शौचालयको खोजीमा भौंतारिन बाध्य छन्।
कतिपयले नजिकैका होटल वा पसलमा अनुरोध गर्नुपरेको देखिन्छ भने कतिपय अवस्थामा बाध्य भएर खुला ठाउँमा शौच गर्नुपर्ने अवस्था छ। यसले नाकाको फोहोर र दुर्गन्धलाई झन् बढाएको छ। र, नेपालको सभ्य र व्यवस्थित मुलुकको छविमा गम्भीर धक्का पुर्याएको छ।
बेलहिया नाका पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक आउने नाका मानिन्छ। विशेषगरी, बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र स्थल लुम्बिनी जाने अधिकांश भारतीय तथा विदेशी पर्यटक यही नाकाबाट प्रवेश गर्छन्। तर, यति ठूलो संख्यामा पर्यटक आउने नाकामा न त पर्यटक सूचना केन्द्र छ, न स्पष्ट दिशानिर्देशन बोर्डहरू नै छन्। न त सहयोगका लागि कुनै हेल्प डेस्क नै। कहाँ जाने, कसरी जाने, यातायात कहाँ पाइन्छ, होटल कहाँ छन् भन्ने सामान्य जानकारीसमेत नपाउँदा पर्यटकहरू अन्योलमा पर्छन्।
यति धेरै समस्या हुँदाहुँदै पनि सरोकारवाला निकायहरूको उदासीनता प्रष्ट देखिन्छ। स्थानीय तह, भन्सार कार्यालय, सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय र पर्यटनसँग सम्बन्धित निकायबीच कुनै प्रभावकारी समन्वय देखिँदैन। सबै निकायले यो समस्या आफ्नो क्षेत्राधिकार बाहिरको हो भन्ने जस्तो व्यवहार गरिरहेका छन्। यसै कारण बेलहिया नाकाको अवस्था दिनप्रतिदिन झन् बिग्रँदै गएको छ।
बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले हराभरा र सुन्दर बेलहियाको परिकल्पना गर्दै अस्तव्यस्त नाकालाई व्यवस्थित बनाउने कार्य अघि सारेको बताए। भारतीय गाडी बिहानै आउने सुविधा लिने अनि दिनभर लावरवाहीपूर्वक यात्रीलाई जबर्जस्ती सताउने गरेको उनले बताए।
स्थानीय बासिन्दा र व्यवसायीहरू पनि नाकाको अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्छन्। उनीहरूले अव्यवस्थाका कारण पर्यटकहरूले राम्रो अनुभव गर्न पाउँदैनन्, जसले दीर्घकालीन रूपमा यहाँको व्यापार, रोजगारी र पर्यटन प्रबर्द्धनमा नकारात्मक असर पारिरहेको छ। नेपाल भारत मैत्री संघका अध्यक्ष डा. शान्ताकुमार शर्माले विगतदेखि नै पार्किङको समस्याले बेलहियामा जरा गाडेको बताए।
सम्बन्धित निकायले पार्किङका लागि ठाउँ दिन नसक्दा पनि बेलहिया नाका अस्तव्यस्त बनेको उनले बताए।
यदि बेलहियालाई व्यवस्थित बनाउन समयमै ध्यान नदिइने हो भने यसले नेपालको पर्यटन, सीमा सुरक्षा र अन्तर्राष्ट्रीय छविमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने निश्चित छ। व्यवस्थित पार्किङ, पैदलमार्गको संरक्षण, ठेला गाडाको व्यवस्थापन, नियमित सरसफाइ, सार्वजनिक शौचालय र पर्यटकमैत्री पूर्वाधारको विकास अहिलेको आवश्यकता हो। बेलहिया अव्यवस्थाको प्रतीक होइन, नेपालको पहिचान र स्वागतद्वार बन्न सक्नुपर्छ। तर, त्यसका लागि सम्बन्धित निकायहरूले मौनता तोडेर तत्काल सुधारतर्फ कदम चाल्नुपर्ने देखिन्छ।