भैरहवा- रुपन्देहीको मायादेवी गाउँपालिका–८ मा रहेको फ्युचर लाइट इंग्लिश हाई स्कुलमा अब कक्षा ११ र १२ मा पनि पाठ्यक्रम अन्तर्गत कोरियन भाषा अध्यापन हुने भएको छ। यसले विद्यालयलाई नेपालमै पहिलोपटक कोरियन विषयलाई उच्च माध्यमिक तहसम्म विस्तार गर्ने शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ।
दक्षिण कोरियाका प्राध्यापक डा. काङ देइ हुनले आइतबार विद्यालयमा आयोजित नेपाली विद्यार्थी र कोरियाली प्राध्यापकबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोरियन भाषा अध्ययनले नेपाली विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने बताए। उनले नेपाली विद्यार्थीहरू सिक्न निकै इच्छुक र अनुशासित भएको बताउदै प्रारम्भिक चरणमै कोरियन भाषा बोल्न सक्नु अत्यन्तै प्रशंसनीय कुरा रहेको बताए। कोरियन भाषा सीपले उनीहरूलाई कोरिया मात्र होइन विश्वव्यापी अवसरसम्म पुर्याउनेछ प्राध्यापक डा. हुनले बताए।
कक्षा ११ र १२ मा पनि कोरियन विषय सञ्चालन हुनुले नेपाल–कोरिया शैक्षिक सहकार्य थप मजबुत हुने विश्वास गरिएको छ।
विद्यालयका प्रधानाध्यापक गम्भीर गुरुङले विद्यार्थीहरूको कोरिया प्रतिको बढ्दो आकर्षण र रोजगारी तथा उच्च शिक्षाका अवसरलाई ध्यानमा राख्दै विद्यालयमा कोरियन भाषा अध्यापन सुरु गरिएको जानकारी दिए। उनले हाल कक्षा ९ र १० मा ऐच्छिक विषयका रूपमा कोरियन भाषा पढाइ भइरहेको छ र विद्यार्थीहरू खर्र कोरियन बोल्न सक्षम बन्दै गएको बताए।
यस वर्ष विद्यालयका विद्यार्थीहरूले पहिलोपटक एस.ई.ई. परीक्षामा कोरियन विषयको परीक्षा दिन लागेका छन्। कक्षा १० पछि पनि विद्यार्थीहरूले कोरियन विषय निरन्तर अध्ययन गर्न पाउने सुनिश्चित गर्न विद्यालयले कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति प्रक्रियामा पहल गरिरहेको छ। एस.ई.ई. दिएका विद्यार्थीहरूलाई सोही विद्यालयमै कक्षा ११ मा अध्ययन गर्न व्यवस्था मिलाइने प्रतिबद्धता विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि डा. बैकुण्ठ आचार्यले आउँदै गरेको एस.ई.ई. परीक्षामा कोरियन विषयमा ३.६ जिपिएभन्दा बढी अंक ल्याउने उत्कृष्ट विद्यार्थीलाई आफूसँग कोरिया लैजाने प्रतिबद्धता व्यक्त गरे।
यस घोषणाले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास बढाएको छ।
विद्यालयमा कोरियन भाषा अध्यापन सुरु भएसँगै विद्यार्थीहरूलाई भाषा सीप, अन्तर्राष्ट्रिय संस्कृतिको बुझाइ तथा भविष्यमा अध्ययन र रोजगारीका नयाँ सम्भावनाहरू खुल्ने विश्वास गरिएको छ।